सात वर्षसम्म अस्पताल भवन अधुरैः सेवा प्रवाहमा समस्या

गलकोट- धौलागिरि अस्पताल बागलुङको ‘सी’ ब्लक निर्माण शुरु गरेको सात वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन ।विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे अस्पताल भवन दुई पटक म्याद थप्दासमेत सम्पन्न नहुँदा अस्पताललाई गुणस्तरीय सेवा दिन असहज भएको छ ।
तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले २०६४ सालमा धौलागिरि अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि ‘ए’, ‘बी’ र ‘सी’ खण्डमा विभाजन गरी छुट्टाछुट्टै मितिमा छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको थियो । विसं २०६४ मा शुरु भएको ‘ए’ ब्लक र विसं २०६६ मा शुरु भएको ‘बी’ निर्माण सम्पन्न भएर हस्तान्तरण भई सेवा प्रदान गरे पनि ‘सी’ ब्लक भने निर्माण शुरु भएको सात वर्ष बित्दासमेत सम्पन्न भएको छैन । अस्पतालको ‘ए’ ब्लक समयमै निर्माण सम्पन्न भए पनि ‘बी’ ब्लक भने दश वर्षमा मात्रै निर्माण सम्पन्न भएको थियो ।
ठेकेदार कम्पनीको उदासिनताका कारण अस्पताल भवनमा ढिलाइ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो । उहाँले तत्कालै ‘सी’ ब्लक भवन निर्माण सम्पन्न गरी सेवा प्रदान गर्नका लागि आवश्यक पहल भए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । हाल १०० श्यया क्षमताको अस्पताललाई गण्डकी प्रदेश सरकारले २०० श्यया क्षमताको उपप्रादेशिक अस्पताल बनाउने घोषणा गरे पनि अस्पतलामा अझै भौतिक संरचनाको अभाव रहेको छ ।
विसं २०७० असार ३ मा तीन वर्षमा निर्माण सक्ने गरी आशिष÷मिलिनियम र भीम ज्योति जेभीले भवन निर्माणका लागि भ्याटबाहेक रु १० करोड छ लाख ६६ हजार ६५५ लाखमा अस्पतालको ‘सी’ ब्लक ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले विभिन्न बाहनामा समयमै काम सम्पन्न नगरेको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वय एकाइ कास्कीका कार्यालय प्रमुख झपडबहादुर थापाले जानकारी दिनुभयो । थापाले पछिल्लो समय भवन निर्माणलाई गति दिएको निर्माण कम्पनीले जानकारी गराएपनि कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको बताउनुभयो ।
कार्यालय प्रमुख थापाका अनुसार २०७० असार ३ गते तीन वर्षका लागि निर्माण गर्ने सम्झौता भए पनि भूकम्प, नाकाबन्दीजस्ता कारण देखाउँदै १८ महिना र पछि थप ३५ महिनाका लागि म्याद थप गरिएको छ । कोरोना सङ्कट नटर्दासम्म आगमी अन्तिम म्याद रहेको कात्तिक मसान्तमा समेत भवन निर्माण सम्पन्न हुनेमा आशङ्का रहेको छ ।
सङ्घीय आयोजना कार्यान्वय एकाइ कास्कीका अनुसार धौलागिरि अस्पतालको ‘सी’ ब्लकको ३० प्रतिशत आर्थिक र करिब ६५ प्रतिशत भौतिक प्रगति रहेको छ । नागरिकको स्वास्थ्य सेवालाई थप सहज, प्रभावकारी र चुस्त बनाउनका लागि अस्पतामा भौतिक संरचना आवश्यक पर्ने भए पनि समयमै भवन निर्माण नहुँदा समस्या हुँदै आएको छ । हाल कोरोना सङ्क्रमितको उपचार गराई राखेको अस्पतालमा भवन अभावमा आइसोलेसन कक्षसमेत विस्तार गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । समयमै अस्पतालको ‘सी’ब्लक भवन सम्पन्न नहुँदा धौलागिरिवासी सुविधा सम्पन्न अस्पताल भवनबाट गुणस्तरीय सेवा लिने अवसरबाट वञ्चित बनेका छन् ।
अस्पताल भवनको डिजाइन गर्दा तल्लो भाग जग (फाउण्डेसन) नमिलेको र समयमानै विद्युत्को हाइटेन्सन लाइन विस्थापित नहुँदा निर्माण सम्पन्न गर्न समय लागेको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि शीतलचन्द्र ढकालले बताउनुभयो । उहाँले हाल अस्पताल भवन निर्माण गर्न पठाइएको १४ कामदारलाई कोरोना पुष्टि भएर धौलागिरि अस्पतालमा उपचारत रहेका कारण समस्या भएको जानकारी दिनुभयो । अस्पतालको सुविधा सम्पन्न ‘बी’ ब्लकको भवन निर्माण भएसँगै बिरामीलाई राहत भए पनि अस्पतालका सम्पूर्ण सेवा प्रदान गर्न ‘सी’ ब्लक अत्यावश्यक हुन्छ ।








प्रतिक्रिया राख्नुहोस्