तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा ९८ र बाराका ५ गरी १ सय ३ मा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज ।बीरगंजको नारायणी अस्पतालको प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र धुलीखेल अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणको क्रममा बारा,पर्सामा थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकामा गरी थप ९८ जना र बाराका ५ जना गरी १ सय ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको नारायणी अस्पताल बीरगंजका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किटको अभाव भएपछि गत श्रावन २७ गते ११ सय भन्दाभन्दा बढी स्वाब परिक्षणको लागि काठमाडौं पठाइएको थियो । विभिन्न पालिकाको क्वारेन्टाइनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र धुलीखेल अस्पतालमा पठाईएकोमा त्यहाबाट प्राप्त पछिल्लो परिक्षणको रिपोर्ट अनुसार पर्साका ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर उपाध्यायले बताउनुभयो । त्यसैगरी बीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा पर्साका ६ जना र बाराका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्राप्त पछिल्लो बिबरण अनुसार कोरोना संक्रमित पुष्टि हुनेमा वीरगञ्ज महानगरपालिकाका ३८ जनामा संक्रमणको पुष्टि भएको छ । गत श्रावन २६ गते वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा गरिएको स्वाब संकलन गराएका मध्ये ११ जना र श्रावन २७ गते त्रिजुद्ध स्कुलमा गरिएको स्वाब संकलन गराएका व्यक्तिहरुमध्ये २७ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाण्डौंबाट हिजो राति प्राप्त पछिल्लो बिबरण अनुसार पोखरिया नगरपालीकामा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियार उनको परिवारका ८ जना,मेयरका चालक, निजी सचिब सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेमा एक जना पत्रकार पनि छन् । पोखरिया नगरपालिकाका एक वडा अध्यक्षमा संक्रमण पुष्टि भएपछि गत श्रावन २६ गते मेयर रौनियारसहति उनी निकटका ३४ जना व्यक्तिहरुको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएकोमा ३३ जनाको रिपोर्ट पोजेटिभ आएको मेडीकल सुपरीटेण्डेन्ट डाक्टर उपाध्यायले बताउनुभयो ।

त्यस्तै,पर्साको जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिकामा श्रावन २७ मा स्वाब संकलन गरिएको थियो । यसैगरी, सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यहाँ श्रावन २६ मा स्वाब संकलन गरिएको थियो । सखुवा प्रसौनी गाउँपालिकाको वडा नामबार ६ का वडाध्यक्ष लालबहादुर यादवसहित ४ स्वास्थ्यकर्मी र अन्य एक जना मा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियारले बताउनुभयो ।

त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणको क्रममा ११ जनामा संक्रमण देखिएको र संक्रमित मध्ये ५ जना बारा जिल्लाको रहेको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button