खोलाले बगाएर ४ जनाको मृत्यु
अछाम । खोलाले बगाएर अछामका एकै घरका चार जनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ कालेकाँडा भानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, छोरा ७ वर्षीय हेमन्त बोहरा, छोरी एक वर्षीया आकृति बोहराको ज्यान गएको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्याम ओलियाले जानकारी दिनुभयो । साउन २९ गते अछामबाट माईतिघर नरहरीनाथ गाउँपालिका वडा नम्बर ७ जानुभएकी देवा शनिवार आफ्नो दिदीको घरमा जाने क्रममा खोला तर्दै गर्दा खोलाले बगाएर ज्यान गएको डिएसपी ओलियाले जानकारी दिनु भयो ।
उनीहरु चारै जनाको शव फेला पारी जिल्ला अस्पताल कालिकोटमा पोष्टमार्टम गरी मृतक देवाका श्रीमान लाल बहादुर बोहराको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताउनु भयो । शनिवार साँझ साढे ५ बजेतिर बगेर बेपत्ता भएका उनीहरुको शव आज फेला परेको थियो । आमाछोरीको शव घटनास्थल नजिकै र दुई छोराको शव करिब २ किलोमिटर टाढा फेला परेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्