ग्रामिण सडक हिलाम्य बनेपछि आवतजावतमा समस्या
सोलुखुम्बु । पछिल्लो समयमा सदरमुकामबाट ग्रामिण भेगमा निर्माण गरिएका विभिन्न सडकहरु बर्षाले बिगारेपछि यातायातका साधन सञ्चालनमा समस्या भएका छन् भने सर्वसाधारणलाई सास्ती बढेको छ । केही दिन यता अविरल रुपमा पानी परेपछि ग्रामिण सडक हिलाम्य भएपछि सास्ती बढेको हो ।
सदरमुकाम नजिकका गाउँपालिका सडक सञ्जालले जोडिए पनि बर्षाले सडकको ट्रयाक बिगारेपछि सवारी साधनहरु आवतजावत गर्न सकेका छैनन् । हिलाम्मे सडक र बढी खाल्डाखुल्डी भएपछि यातायात व्यवसायीहरुले पनि सार्वजनिक सवारी साधनको रुपमा प्रयोग गरिएका जीप तथा ढुवानीमा प्रयोग हुने ट्रयाक्टर कतिपय स्थानमा बन्द गरेका छन् ।
सदरमुकाम सल्लेरीबाट सल्यान, देउसा, पञ्चन, बासा, काँकु, बेनी, टाक्सिन्दु लगायत दर्जन भन्दा बढी गन्तव्यमा जाने सवारी साधनहरु सडकको दुरावस्थाकै कारण समस्या भएको छ । कहिलेकाँही बढी हिलो भएकाले यातायातका साधन पल्टिने गरेका छन् । सडक निर्माणबाट स्थानीयलाई राहत भएको भए पनि गुणस्तरीय बाटो नहुँदा स्थानीय सर्वसाधारण पुनः हिडेर नै ओहोरदोहोर गर्न बाध्य भएका छन् । बोटोमा पहिरो गइरहने भएकाले पैदल यात्रा समेत जोखिपूर्ण बनेको छ ।
सल्लेरीबाट काँकु–बासासम्मको सडक निर्माण भए पनि बर्षाको भेलले बिगारेपछि आहोरदोहोरमा समस्या भएको बासाका ललित कार्कीले बताउनुभयो । सल्लेरीदेखि नै बासा जाने सडक खण्ड अन्तर्गत बासासम्म सावारी साधन जाने भए पनि सडक बिग्रिएपछि सास्ती भएको छ । सल्लेरी हुदैँ सेलीगुडी डाँडाबाट काँकु पुग्ने सडक पनि हिलाम्य भएपछि यातायात आवतजावतमा समस्या भएको छ ।
सबै ठाउँमा सडक नबिग्रिएको भन्दै यातायात व्यवसायीहरुले भत्किएको तथा हिलाम्य भएका ठाउँमा बनाइदिए सवारी साधनहरु सञ्चालन गर्न सकिने बताएका छन् । गाउँमा जाने सडक अवरुद्ध भएसँगै खाद्य सामाग्रीको मूल्य पनि बढेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्