मुगुमा भदौ १ बाट सेमि लकडाउन हुने

मुगु । हिमाली जिल्ला मुगु भाद्र १ गतेबाट सेमि लकडाउन हुने भएको छ । मुगु जिल्लासँग नजिकको सम्बन्ध रहेका छिमेकी जिल्लाहरूमा कोरोना सङ्क्रमितको दर बढ्दै गएकाले मुगुवासीलाई कोरोना सङ्क्रमणबाट बचाउन सरोकारवाला सहित जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले भाद्र १ गतेबाट जिल्लालाई सेमि लकडाउन गर्ने निर्णय गरेको हो ।
जिल्लाको व्यापारिक तथा अन्य कारोबार हुने जिल्लाहरू जुम्ला, बाजुरा, नेपालगन्ज, सुर्खेत, बुटवल, काठमाडौँ, विराटनगर, पोखरा जस्ता प्रमुख सहरहरूमा कोरोनाका सङ्क्रमितहरू प्रतिदिन बढ्दै गएकाले गत साउन ६ गते मध्य रातिबाट सरकारले घोषणा गरेको लकडाउन अन्त्य गरेसँगै आजका मितिसम्म जिल्लामा अन्य जिल्लाहरूबाट स्थानीय व्यक्तिहरू भित्रिएकाले सबैले आरडिटी र पिसिआर परीक्षण गरी भित्रिए पनि कहीँ कतै बाट कोरोना समुदायसम्म नफैलियोस् र समयमै सङ्क्रमित पत्ता लागोस् भन्ने उद्देश्यले परीक्षणको दायरा बढाउँदै आगामी भाद्र १ गतेबाट जिल्लालाई अघोषित सेमि लकडाउने गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनु भयो । सेमिलकडाउनमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द हुने बताइएको छ ।

आजका मितिसम्म जिल्लामा ५/६ जनामा मात्र कोरोना देखिएको छ, त्यसमा पनि प्राय सबै घर फर्किसक्नु भएको छ २ जना मात्र आइसोलेसनमा हुनुहुन्छ । जिल्लाबाट पठाएका सबै स्वाबहरूको रिपोट नेगेटिभ आउने गरे पनि थप सजगता अपनाउन र समुदाय स्तरसम्म कोरोना कसैमा संक्रमण भएको भए नफैलियोस् भनेर समय मै सङ्क्रमित पत्ता लगाउने उद्देश्यले भाद्र १ गतेबाट सेमि लकडाउने गर्ने निर्णय भएको बैठकमा सहभागी छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताउनु भयो ।
जिल्लाका नगरपालिका सहित ४ वटै स्थानीय निकायमा हाल उपलब्ध भएका किटहरूले कोरोना परीक्षणको दायरा लाई बढाइने छ भने प्राप्त रिर्पोटको आधारमा सेमी लकडाउन खोल्ने वा झनै कडा गरिने कुरा रिर्पोटमा भर पर्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्