तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय संसद्का पदाधिकारीलाई अद्यावधिक नक्सा अङ्कित लोगो हस्तान्तरण


काठमाडौँ । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अङ्कित सङ्घीय संसद्को प्रतीक (लोगो) आज सङ्घीय संसद्का पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललाई अद्यावधिक नक्सा प्रयोग गरिएको नयाँ लोगो हस्तान्तरण गर्नुभएको हो ।

गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्का सदस्यहरूले प्रयोग गर्दै आउनुभएको लोगो नेपालको वास्तविक सीमा अनुरूपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि सङ्घीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय अनुसार सङ्घीय संसद् सचिवालयले नयाँ लोगो तयार गरेको हो ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ ।

लोगो बाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो ।

प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

सङ्घीय संसद्का सदस्यहरूलाई समेत नयाँ नक्सा अङ्कित लोगो आजैदेखि उपलब्ध गराइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button