तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना मुक्त भई डिस्चार्ज भएको ४ घण्टामै मृत्यु

वीरगन्ज । कोरोना सङ्क्रमणमुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीका ५५ वर्षीय लाल बहादुर प्रसाद कलवारको गए राति घरै नपुगी मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थायी कोभिड वीरगन्ज हेल्थ केयर अस्पतालमा कोरोना मुक्त भई गए राति डिस्चार्ज भएका कलवारको ४ घण्टापछि गण्डक स्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको हो । मृतकको नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ पछि डिस्चार्ज गरिएको र डिस्चार्ज भएको समयमा समेत कलवारलाई झाडापखाला र अक्सिजनको मात्रा पनि कम देखिएको हुँदा उहाँलाई उपचारको लागि अर्को अस्पतालमा अस्पताल भर्ना गर्न चिकित्सकले सल्लाह दिएका थिए ।

कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि कोभिड अस्पतालमा राख्न नमिल्ने भएकोले उहाँलाई थप उपचारको लागि अर्को अस्पतालमा लैजान आफन्तलाई चिकित्सकले सुझाव दिएपछि आफन्तले उहाँलाई नारायणी वयोधा अस्पतालको आइसियुमा भर्ना गरेका थिए । उपचारकै क्रममा गए राति साढे ११ बजे कलवारको मृत्यु भएको बयोधा अस्पताल प्रशासनले जनाएको छ ।

मृतक वृद्ध उच्च रक्तचाप, मधुमेह, फोक्सो र किड्नीको समस्याबाट लामो समय देखी ग्रसित रहेको र विभिन्न रोगको उपचार भइरहेको बेला केही दिन अघि उनलाई निमोनिया भएपछि चिकित्सकको सल्लाह बमोजिम साउन १७ गते कोरोना परीक्षण गराउँदा १९ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई वीरंगंज हेल्थ केयरको आइसोलेसनमा राखेर उपचार भइरहेको अवस्थामा हिजो साँझ नारायणी प्रयोगशालाको पिसीआर रिपोर्टमा कोरोना नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएसँगै घर नगई सिधै उनलाई नारायणी बयोधा अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

मृत्युपछि आज परिवारले अस्पतालबाट शव बुझेर हिन्दु परम्पराअनुसार अन्त्येष्टि समेत गरिसकेका छन् । कोरोना प्रयोगशालाको परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चार घण्टापछि ज्यान गएपछि परीक्षण रिपोर्टमै आशङ्का उत्पन्न भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button