वर्षाको कारण कोसी लोकमार्ग अन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडक भासियो
धनकुटा । वर्षाको कारण कोसी लोक मार्ग अन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडक खण्डको खुरिलामा सडक भासिएको छ । धरान–धनकुटा सडक खण्डको खुरिलामा नियमित रूपमा परिरहेको भारी वर्षाको कारण सडक भासिएको हो ।
धनकुटा नगरपालिका वडा नं.९ को खुरिलामा पर्ने सो सडक करिब एक सय मिटर लामो भासिएको छ । सडक भासिएसँगै ह्याबी गाडी आवतजावत गर्न जोखिम भएको छ ।
स्थानीय बासिन्दा गङ्गाबहादुर आलेले भन्नुभयो, –हजारौँ सवारी साधनहरू गुड्ने सडकमा एक हप्तादेखि सडक नियमित रूपमा भासिएको कारण जोखिम थपिएको बताउनुभयो । तर, हालसम्म सडक डिभिजन कार्यालय धनकुटाले भासिएको सडकमा मर्मत गर्न ध्यान नपु¥याएको आलेले गुनासो गर्नुभयो । आज बिहानसम्ममा सडक साबिकको स्थानबाट करिब तीन मिटरभन्दा बढी उचाइमा भास्सिसकेको उहाँले बताउनुभयो ।
उहाँले सडक भासिएको स्थानमा कमेरे माटो र सिमसार पानी उम्रिने क्षेत्र भएकोले नियमित वर्षाले गर्दा सडक भासिने क्रम नरोकिएको बताउनुभयो । सडकको भित्तातर्फ माथिदेखि नै जमिन सोरिएर आएकाले त्यहाँ माथिको बस्तीलाई समेत जोखिम बढेको गङ्गाबहादुरले बताउनुभयो ।
सडक भासिएसँगै सो सडकको छेउतर्फ गाडिएको ३–४ वटा विधुतको पोल पनि ढल्ने अवस्थामा पुगेको छ । सडक पहिरो जानु थालेसँगै विधुतका पोल समेत बाङ्गिइएको छ । विधुतको पोल ढल्नु अघि नै स्थानान्तरण गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
कोरोनाको कारण धनकुटा लकडाउन भए पनि कोसी लोक मार्गमा सावरी साधन निर्बाध रूपमा चलिरहेको र रातको समयमा बढी मात्रामा ह्यावी गाडी गुड्ने भएकाले पनि यात्रा गर्न निश्चित रूपमा जोखिम बढेको छ ।
बिद्युत्को ढल्किएको पोल हटाउन हालसम्म विधुत प्राधिकरणको नजर नपरेको स्थानीय लक्ष्मण मगरले बताउनुभयो ।
कोसी लोक मार्गको विशेष गरेर घण्टे, गर्जुवा, लेउती, लावरवोटे, मुलघाट माथिको ११ गोलाई, रुद्रवारी र सल्लेरी वन क्षेत्रमा पर्ने सडक खण्डमा वर्षा याममा पहिरोको कारण यात्रा गर्न जोखिम रहेकाले सचेत भएर यात्रा गर्न समेत डिभिजन कार्यालयले सवारी चालकहरूलाई आग्रह समेत गरेको छ ।
यस अघि मुलघाट माथिको ११ गोलाईमा पर्ने रुद्रवारी जङ्गलको ७ नम्बर गोलाईमा पनि करिब ५० मिटर लामो सडक भासिएको छ । उक्त सडक निर्माणमा पनि हालसम्म सडक डिभिजन कार्यालय धनकुटाले चासो देखाएको पाइँदैन ।








प्रतिक्रिया राख्नुहोस्