सिल गरिएका बाँकेका सबै सरकारी कार्यालय खुले

बाँके । नेपालगन्जमा रहेका सरकारी कार्यालय आजबाट खुलेका छन् । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुई सातादेखि बन्द रहेका बाँकेका सरकारी कार्यालय आज आइतबारबाट खुलेका हुन् ।
सरकारी कार्यालयका कोरोना सङ्क्रमित कर्मचारी निको भएपछि दुई साता अघिदेखि बन्द भएको यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयले आफ्नो नियमित सेवा आजदेखि सुचारु गरेका छन् ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च भइरहेको अवस्थामा आजदेखि कार्यालय खुले पनि सबै सेवा भने सुरु नभएको यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत पूर्ण खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को सूचना जारी नहुँदासम्म सवारी साधनको नामसारीको काम हुँदैन ।

खत्रीले कोरोना भाइरस सङ्क्रमणको जोखिम अझै नटलिसकेको अवस्थामा कार्यालयमा सवारी नवीकरण गर्नका लागि बार छुट्याएर काम अघि बढाइएको बताउनुभयो । विभिन्न सिफ्टमा कार्यालयबाट प्रदान गरिँदै आएको सेवा प्रदान गर्ने योजना भएको छ ।
यस्तै आन्तरिक राजस्व कार्यालयले पनि आजबाट कार्यालय सुचारु गरेको छ । दुई साताअघि उक्त कार्यालयका आन्तरिक राजस्वका अधिकृतसहितका सात जना कर्मचारी र परिवारका सदस्य गरी १२ जनामा कोरोना संक्रमण भएको थियो ।
सङ्क्रमित सबै गत बिहीबार निको भएर डिस्चार्ज भइसकेका छन् । राजश्व कार्यालयले आइतबारदेखि आधा कर्मचारी परिचालन गरी सेवा सुचारु गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।
यसै गरी नेपालगन्ज उपमहानगरपालिकाले पनि आजबाट सेवा सुचारु गरेको छ । उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकासगैं सबै वडा कार्यालयहरू आजबाट पुनः सुचारु भएको नगर प्रमुख डा.धवल शमशेर राणाले जानकारी दिनुभयो ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी उप–महानगरपालिकाबाट प्रदान गरिने नियमित कामकाज सुरु गरिएको छ । योसँगै उपमहानगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरू पनि सञ्चालनमा आएका छन् ।
यसअघि उपमहानगरका जनप्रतिनिधि र अधिकृत स्तरका कर्मचारीलाई कोरोना संक्रमण भएपछि उपमहानगरपालिकाका २३ वटै कार्यालय सिल गरिएको थियो ।

मेयर डा.राणाले भन्नुभयो, “कोरोनाविरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्वारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ । साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, ज्वरो नाप्ने जस्ता कार्य गरेपछि मात्र सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न दिइन्छ ।” मास्क प्रयोग नगर्ने सेवाग्राहीलाई कार्यालय प्रवेश गर्न नदिने समेत उहाँले बताउनुभयो ।
बाँकेमा कोरोना संक्रमण क्रमशः न्यूनीकरणतर्फ गएकोले बन्द गरिएका सरकारी कार्यालय आजबाट खोल्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्