तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा र बाराका थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगञ्ज । नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणको क्रममा गए राति पर्सा र बाराका थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुनेमा पर्सामा ४५ र बारामा दुई जना रहेका छन्, जसमध्ये १० जना महिला रहेका छन् । सङ्क्रमितहरू कन्ट्याक्ट ट्रेसिङमा परेका र स्वेच्छाले आफ्नो परीक्षण गराएकाहरूमा समेत सङ्क्रमण पुष्टि भएको नारायणी अस्पताल बीरगंजका चिकित्सक डा.निरज सिंहले जानकारी दिनुभयो ।

पर्साका थपिएका मध्ये अधिकांश ग्रामीण क्षेत्रका रहेका छन् । पर्साको पोखरिया नगरपालिकामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै, पर्सागढी नगरपालिकामा २ जना, बहुदरमाई नगरपालिकामा एक जना र बिन्दबासिनी गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएको छ ।बीरगञ्ज महानगरपालिकाको ग्रामीण इलाकामा पर्ने परवानीपूर, पनटोखा, सोलाखपूर र इनर्वा जस्ता क्षेत्रमा पनि सङ्क्रमण देखिएको छ ।

यस्तै, नारायणी अस्पताल, नारायणी बयोधा अस्पताल र प्राइम फर्मास्युटिकल कम्पनीका कर्मचारीमासमेत सङ्क्रमण देखिएको छ ।

नारायणी अस्पतालको स्त्री तथा प्रस्तु रोग वार्डका २ महिला कर्मचारी, सामाजिक सुरक्षा शाखा एक पुरुष र एक महिला गरी दुई जना कर्मचारी, एक जना सुरक्षा गार्ड, पेडीयाट्रिक विभागकी एक जना महिला कर्मचारी, ओपिडीका काउन्टर स्टाफ एक जना गरी सात जनामा सङ्क्रमण पुष्टि भएको डा.निरज सिंहले बताउनुभयो ।

यस्तै, नारायणी बयोधा अस्पतालका एक जना हाउस किपिङ्ग स्टाफ, एक जना प्रशासन शाखाका र एक जना स्टोरका गरी तीन जना कर्मचारीमा सङ्क्रमण देखिएको छ ।

बीरगञ्जस्थित प्राइम फर्मास्युटिकल कम्पनीका पाँच जना कर्मचारी पनि सङ्क्रमित भएका छन् । पाँचै जनामा कोरोनाको लक्षण समेत देखिएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।

नारायणी अस्पतालमै डायलासिस गराइरहेका ४२ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यसै गरी, अस्पतालकै आइसियुमा भर्ना एक जना २२ वर्षीय युवकमा पनि सङ्क्रमण पुष्टि भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या आइरहेको चिकित्सकले बताइएको छ ।

यसै गरी भवानी अस्पतालमा भर्ना भएका एक जना ५२ वर्षीय पुरुष पनि सङ्क्रमित भएका छन् । पर्साको पोखरिया नगरपालिकामा एक जना चिकित्सकको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुनेहरूमा पोखरिया नगरपालिकाको वडा नं. १ का ४६ र ४८ वर्षीय दुई जना पुरुष, वडा नं. ४ की एक जना ३० वर्षीय महिला, ८ वर्षीय बालक, २७, २८ र ५५ वर्षका तीन जना पुरुष गरी ६ जना, वडा नं. ७ की एक जना २८ वर्षीय महिला र एक जना ३७ वर्षीय पुरुष गरी २ जना र वडा नं. ९ का १८ र ४० वर्षका २ जना पुरुष गरी जम्मा १२ जना रहेका छन् ।

त्यस्तै सङ्क्रमित हुनेहरूमा बीरगंज महानगरपालिकाका २७ जना रहेका छन् । महानगरपालिकाको वडा नं. २ छपकैयाका एक जना ४० वर्षीय पुरुष, वडा नं. ४ विर्ताका एक जना २४ वर्षीय युवक, वडा नं. ५ लाठगल्लीका एक जना ४८ वर्षीय पुरुष, वडा न. ८ पानीटंकीका ३२ वर्षीय पुरुष, वडा नं. १० घडिअर्वाका एक जना ४२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै महानगरको वडा नं. ११ को श्रीपुर र रानी घाटमा दुई जना २५ र ७० वर्षीय महिला, एक जना १२ वर्षीय बालक र दुई जना ३२ र ५१ वर्षीय पुरुष गरी पाँच जनामा सङ्क्रमण देखिएको छ ।

त्यसै गरी, बीरगञ्जको वडा न. १२ मुर्लीका एक जना ५२ वर्षीय पुरुष र पानीटंकीका एक जना ११ वर्षीय बालक र २० वर्षीय युवती गरी ३ जना, वडा नं. १६ इनर्वाका २५ वर्षीय पुरुष र वडा नं. ३२ सोलखपूरका एक जना १९ वर्षीय युवकमा समेत कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

परवानीपुरका एक जना २० वर्षीय पुरुष, पनटोखाका एक जना २६ वर्षीय पुरुष र वडा नखुलेका २ जना २२ र ३२ वर्षीय पुरुषमापनि सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, पर्सागढी नगरपालिका वडा नं. २ बगबनाका एक जना २५ वर्षीय पुरुष र वडा नं. ५ पञ्चरुखीका एक जना ३१ वर्षीय पुरुष गरी दुई जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

त्यसै गरी, बहुदरमाई नगरपालिका वडा नं. ९ भौराटारका एक जना २३ वर्षीय पुरुष र बिन्दबासिनी गाउँपालिका वडा नं १ का एक जना २९ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

पर्साकै देवरवाना ३ का एक जना २९ वर्षीय पुरुष, बिरुवागुठीका एक जना ३५ वर्षीय पुरुष पनि सङ्क्रमित भएका छन् ।

त्यस्तै, बाराको कलैया उपमहानगरपालिका वडा नं. १ का एक जना ६० वर्षीय पुरुष र महागढीमाई नगरपालिका वडा न. ५ कवहीका एक जना ४० वर्षीय पुरुष गरी दुई जना सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका हेल्थ इन्चार्ज जयमोद ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button