सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन

सप्तरी । कोरोना रोकथाम तथा नियन्त्रणका क्रममा जिल्लामा हालसम्म १० हजार भन्दा बढी व्यक्तिको स्वाब संकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबारसम्ममा जिल्लामा कुल १० हजार ८ सय ७ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये ९ हजार ८ सय ५ जनाको पिसिआर परिक्षण कार्य सम्पन्न भएको छ ।
यसरी सम्पन्न पिसिआर परिक्षणबाट हालसम्म ९ हजार १ सय ७८ जनाको नेगेटिभ तथा ६ सय २७ जनाको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
यस्तै कुल संक्रमित मध्ये १ सय ११ जना साईकृष्ण मेडिकल कलेज, ३४ जना तिलाठी कोइलाडी गाउँपालिका तथा ४४ जना होम आइसोलेशनमा रहेको र अन्य निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै दैनिक कोरोना संक्रमित फेला पर्दै गएको सप्तरीमा बिहीबार राती पनि थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये १० जना राजविराज नगरपालिका तथा एक जना विष्णुपुर गाउँपालिकाका रहेका छन् ।
संक्रमित सबैलाई आइसोलेशनमा राखी उनीहरुका परिवारजन तथा सम्पर्कमा आएकाहरुको स्वाब संकलन कार्य सुरु गरिएको समेत जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएको छ ।








प्रतिक्रिया राख्नुहोस्