तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा प्रहरीको हस्तक्षेपपछि बालविवाह रोकियो

सप्तरी । सप्तरीको शम्भुनाथ मन्दिरमा हुन लागेको एउटा बालविवाह स्थानीय समाज र प्रहरीको संयुक्त प्रयासमा रोकिएको छ । जिल्लाको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ का लड्डु दासकी १५ वर्षीया छोरी निर्मलाको बिवाह शुक्रबार रोकिएको हो ।

उहाको बिवाह सप्तरीकै विष्णुपुर गाउँपालिका वडा नं. ६ रन्जितपुरका ३२ वर्षीय बिन्देश्वर दाससँग हुन लागेको थियो । प्रहरी उपरीक्षक कृष्ण प्रसाईको निर्देशनमा प्रहरी चौकी डिमनबाट हवल्दार महेश प्रसाद बैठाको नेतृत्वमा एक टोली बालिकाको घर पुगे पछि सो विवाह रोकिएको हो ।

स्थानिय नागरिक अगुवा र प्रहरीे पुगेको टोलीले बेहुलीलाई रोकिदिएका थिए । बेहुली लिन पुगेका गाडी पनि स्थानीयले लखेटिदिएका छन ।

प्रहरी र नागरिक अगुवाले बेहुलीका आमाबुबालाई उमेर नपुगि छोरीको बिवाह गर्न पाइन्न् भन्ने कानुनी व्यवस्था बारे सम्झाएपछि उनीहरु विवाह रोक्न राजी भएका थिए । आर्थिक अवस्था निकै कमजोर रहेका निर्मलाका आमाबुबाले आफूहरुसँग दाइजो दिने रकम नभएको तथा दाइजो बिना नै आर्थिक रुपमा सम्पन्न परिवारका केटा पाएकाले छोरीको उमेरको ख्यालै नगरि बिवाह गर्न लागेको लाचारी सुनाएका थिए ।

तर, एकातिर छोरीको उमेर नपुगेको र अर्कोतिर दोब्बर उमेरका केटासँग बिवाह गर्नु हुदैन भन्ने बारे टोलीले सम्झाएपछि निर्मलाका आमाबुबा छोरीको बिवाहबाट पछि हटेका हुन् ।

उता शम्भुनाथ मन्दिरमा बेहुला बिन्देश्वर बिवाह मण्डप (मडवा) मा बसेर बेहुली आउने प्रतिक्षामा बसिरहेका थिए । बेहुली लिन गएका गाडी रित्तै फर्किएको कुराको वारेमा चालकले सबै कहानी सुनाएपछि त्यही गाडी चढेर बेहुला र परिवार हतार हतार घर फर्केका छन् । प्रहरीले भने आफूहरु पुग्नु अगावै बेहुला र त्यसको परिवार मन्दिरबाट भागेको बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी तिलक भारतीले आफूहरुलाई बालविवाह बारे जानकारी आए लगत्तै त्यसलाई रोक्न प्रहरी परिचालन गरिएको बताउनु भयो । “ऐन कानुन विरुद्ध हुने बिवाह वा कुनै पनि काम रोक्नु हाम्रो कर्तब्य हो, उहाँले भन्नु भयो , “त्यही कानुनको पालन गराउन उक्त बिवाहमा हस्तक्षेप गरिएको हो ।”

जिल्लामा ६ महिनायता तीनवटा बालविवाह अभियन्ता र प्रहरीको संयुक्त प्रयासबाट रोकिएको छ । लुकिछिपि उमेर ढाटेर गरिने बालविवाह रोक्न र यसलाई निरुत्साहित गर्न समय समयमा जनचेतना अभियान थालिएको र यसमा सबैको सकारात्मक सहयोग आवश्यक रहेको प्रहरी उपरीक्षक प्रसाईको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button