तपाईँ सुन्दै हुनुहुन्छः

स्क्रबटाइफसबाट बझाङमा एक महिलाको मृत्यु

बझाङ । कोरोना भाइरस महामारीको सन्त्रास फैलिरहेका बेला बझाङमा पहिलो पटक फेरी एउटा नयाँ रोग देखिएको छ । स्क्राबटाईफस नामको यो रोगबाट बिहीबार एक महिलाको मृत्यु भएपछि समुदायमा यो रोगको पनि त्रास फैलिएको हो ।

दुर्गाथली गाउँपालिका वडा नम्बर एक घर भएकी २२ बर्षिया एक महिलाको स्क्रबटाईफस रोगबाट बिहीबार निधन भएको जिल्ला अस्पतालका डा.मिलन खड्काले बताउनुभएको छ । उहाँले भन्नुभयो, स्वास्थ्यमा समस्या आएपछि बिरामी महिला एक हप्ता अघिदेखि गाउँकै क्लिनिकमा उपचार गराइरहेको र स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको हो ।

अस्पतालमा ल्याब परीक्षण गर्दा मृतक महिलामा स्क्रबटाईफस पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार यो रोग बझाङमा पहिलो पटक देखा परेको छ । किर्ना प्रजातिले टोकेमा लाग्ने यो रोगको लक्षण उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीरमा स–साना बिबिरा आउने, हातखुट्टा दुख्ने, दिउँसो ठिक भए पनि राती बढी ज्वरो आउने –लक्षण रहने गरेको बताइएको छ ।

जिल्लामा एक साता यता मात्रै यो रोग नौ जनामा देखिएको डा.खड्काले बताउनुभयो । उहाँका अनुसार अहिले यो रोगको प्रकोप जिल्लाको जयपृथ्वी नगरपालिका, खप्तडछान्न गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका, र मष्टा गाउँपालिकामा देखा परेको छ । उहाँले अहिले यो रोग लागेका एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अन्य बिरामी उपचारपछि घर फर्किसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button