तपाईँ सुन्दै हुनुहुन्छः

अरनिको राजमार्गको बाह्रबिसे लिपिङ मार्ग ठाउँठाउँमा अवरुद्ध

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशीमा बाढीले गरेको कटान र पहिरोका कारण अरनिको राजमार्गको बाह्रबिसे लिपिङ मार्गका ठाउँठाउँमा अवरुद्ध भएको छ । २६ किलोमिटरको उक्त सडक खण्डमा सवारीसाधन संचालन पूर्ण रुपमा बन्द भएको छ । एक हप्तादेखि उक्त सडकमा पहिरो जान थालेको हो ।

भोटेकोशी नदीको बाढीले डाक्लाङमा ठूलो पहिरो गएको छ । झण्डै दुई मिटर सडक नदीले कटान गरेको छ । सो सडकमा ट्रयाक समेत खन्न नमिल्ने गरि सडक बगेको छ । त्यस्तै सानो डाक्लाङ स्थित सडकमा माथिबाट आएको पहिरोले सडक अबरुद्ध छ । खोल्सामा बाढी आएका कारण सानो डाक्लाङमा भीषण पहिरो गएको छ । सडक बन्द भएको सातादिन बितेपनि सो सडक कहिले बन्छ केही पत्तो छैन् ।

बाह्रबिसेदेखि नै लिपिङसम्मको सडक बाढीले दजनौं खण्डमा बिगारेको छ । बाढीले खाग्दल, जम्बु, शिरिशे, इलाका प्रहरी चौकी बाह्रबिसे छेउका सडक बगरमा परिणत बनाएको छ । बाह्रबिसेदेखि लिपिङसम्मको सडकखण्ड चिराचिरा परेका छन् । बिभिन्न खण्डमा भासिएका छन् । सडक बग्न थालेपछि सडक माथि र सडक आसपास रहेका बस्ती जोखिममा रहेका छन् ।

डाक्लाङ पहिरोमाथि पनथली गाउँमा ३५ घरधुरी रहेको छ । उक्त पहिरोले सो बस्ती उच्च जोखिममा पारेको भोटेकोशी गाउँपालिका ४ का वडा अध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिनुभएको छ । झिर्पुको हिन्दी खोल्साले २५ घर उच्च जोखिममा पारेका छन् ।े ।

स्थानीय पासाङनुर्पु तामाङका अनुसार सडक भत्कन थालेपछि पहिरो क्षेत्रबाट नै पैदलयात्रा गर्नु पर्ने समस्या रहेको छ । पहिरोबाट आउजाउ गर्दा माथिबाट ढुंगाा झरेर लाग्ने खतरा रहेको छ ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख बिजयकुमार महत्तोले डोजर र कर्मचारी तयारी अबस्थामा राखेको र मौसम सुधार भएसँगै सडकको मर्ममतको काम थालनी गरिने जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button