ग्राभेल र पुल नहुँदा नाग्म–गमगडी सडकमा सास्ती

जुम्ला । कर्णाली राजमार्गको नाग्म–गमगडी सडक खण्डमा वर्षातले सडक हिलाम्मे हुँदा आवतजावतमा समस्या भएको छ । ग्राभेल देखि ठुला खोलामा अहिले सम्म पुल निर्माण नहुँदा वर्षातमा उक्त सडक खण्डमा नागरिकले सास्ती पाउने गरेका छन् । आजभोली नाग्म गमगडी सडक खण्डमा यातायातका साधन मात्रै होइन पैदलयात्रुले समेत सास्ती पाईरहेका छन् ।
संघियता आएको ४ बर्ष पुग्न लागिसक्दा पनि नाग्म गमगडी सडकखण्डको प्रवेशद्धारको ठुलो खोलामा अहिले पक्की पूल निर्माण नहुँदा जोखिम मोलेरै नागरिक खोला तर्न बाध्य छन् । असार देखि भदौ पहिलो साता सम्म एक्लै मोटरसाईकल समेत चलाउन सकिने अवस्था छैन् । हाल सम्म उक्त खोलाले चार वटा मोटरसाईकल समेत बगाईसकेका छ ।
गत वर्ष भदौमा सकिनु पर्ने ग्राभेल अहिले सम्म अलपत्र छ भने नाग्मगमगडी सडकको प्रवेशद्धारको खोला र अन्य खोलामा पुल निर्माण गर्न समेत जोडदार सिंजाबासीले माग गरेका छन् ।
खोलामा पूल र सडकमा ग्राभेल नहुँदा वर्षौदेखि नागरिकले पाइरहेको सास्तीमा तीनै तहको सरकार भने मुकदर्शक बनेको स्थानीय सर्पजीत परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “नाग्म–गमगढी सडकखण्डको नाग्मदेखि आचार्य लिहीसम्मको १९ किलोमिटर ग्राभेल गर्ने भनिए पनि करिब नौ किलोमिटर मात्रै ग्राभेल गरेर ठेगेदार फरार छ । बाँकी सडक हिलाम्य हुँदा यात्रा निकै कष्टकर हुँदा समेत ठेगेदारलाइ नियन्त्रण गर्न नसक्नु तीनैतहको सरकारको गैरजिम्मेवारीपन हो ।”
मुगुको रारातालमा जान हजारौ पर्यटकहरुको सवार हुने उक्त सडक खण्डलाई पर्यटकिय मार्ग समेत भनिन्छ, तर स्तरबृद्धिमा राज्य मौन हुँदा हिउँदमा धुलो र वर्षामा हिलो हुने समस्या उस्तै रहेको सिंजाका अर्का स्थानीय राजु तिरुवाले गुनासो गर्नुभयोे । ग्राभेल अलपत्र पार्ने ठेकेदारलाई तत्काल कालोसूचिमा पार्न वा काम सुचारु गराउन समेत सिंजाबासीले माग गरेका छन् ।
हिमा गाउँपालिकाका अध्यक्ष रज बहादुर शाहीले भन्नुभयो,“संघ र प्रदेश सरकारले सडकको स्तरबृद्धिका लागि बजेट विनियोजन गर्ने हो । स्थानीयतहले मिल्दैन, तर माथिका दुबै सरकार मौन छन् । गत वर्ष हिलो पन्छाउन थोरै बजेट दिँदा मलेपाले बेरुजु देखायो । ठेगेदारलाई बाँकी काम अघि बढाउन ताकेता दिएका छौ अबको केहि समय भित्र नबनाए कालो सूचिका लागि सिफारिस गछौ ।”
हिम्दुङथोकर–हिरा नमिता जेभीले नाग्मबाट बड्कीसम्मको १३ किलोमिटर सडक ७ करोड ९० लाख ९५ हजार एक सय ७७ रुपैयाँमा थोदुङ कन्स्ट्रक्सनले ग्राभेल गर्ने जिम्मा पाएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले ०७६ को दशैँअघि नै काम सम्पन्न गर्नुपर्ने थियो । तर ०७७ को दशै आउन लागिसक्दा समेत ग्राभेल अधुरै रहेकोले ठेकेदारलाई अन्तिम चेतावनी दिइएको समेत हिमाका प्रमुख प्रशासकीय अधिकृत टोप बहादुरले जानकारी दिए । बड्कीबाट आचार्यलिहीसम्मको साढे चार किलोमिटरको काम मात्रै गरी ठेकेदार अलपत्र छ ।
सडकमा हिलो खाल्डा मात्रै
वर्षाको समयमा खोलामा आउने बाढीको जोखिम त छदैछ । नाग्म देखि मुगु सम्मको करिब ८० किलोमिटर सडकमा हिलो र खाल्डाखुल्डी मात्रै छन् । आजभोली अत्यावश्यक काममा पनि सवारी लिन खोज्दा हिलोमा गाडिने र सवारी विग्रने भएकाले कोही पनि जान मान्दैनन् ।
जसले गर्दा यात्रुहरुले थप समस्या भोग्दै आएको स्थानीय दन्त शाहीले दुखेसो गरे । एक दिनमा ५÷६ किलोमिटर समेत गुड्ने अबस्था छैन् । सरकार रारा तालका नाममा करोडौ बजेट र लाखौ पर्यटक भित्राउने कुरा मात्रै गर्छ । तर पूर्वाधार व्यवस्थापनमा ध्यान नदिएको आरोप छ ।
अधिकांश समय गाडी फस्ने तथा सडक अबरुद्ध हुने गरेका कारण दशै तिहार गएको कोरोना महामारीमा पनि मान्छेलाई ओर्सादा समेत बीचमै बस्नुपर्ने अबस्था आएको थियो । सिंजा गाउँपालिकाका अध्यक्ष देवल सिंह रावलले कोरोना महामारी साम्य हुने वित्तिकै बाँकी सडकमा ग्रोभलका लागि ठेकेदारलाई झिकाउने दाबी गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्