तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाविरुद्धको अभियानमा लाखे नाच

     दोलखा । गठेमङ्गल (घण्टाकर्ण) को भोलिपल्टदेखि प्रदर्शन गरिएको चरिकोटको लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट बुधवार राति १२ बजेबाट यो वर्षको लागि अन्त्य गरिएको छ ।

कंसले कृष्णलाई मार्न पूतनालाई पठाएको तर उल्टै कृष्णलेनै पूतनालाई मारिदिएको पौराणिक कथावस्तुमा आधारित भई चरिकोटमा २०१६ सालदेखि लाखे नाच प्रदर्शन गर्दै आएको चरिकोट गुठिका अध्यक्ष रामदास श्रेष्ठले बताउनु भयो । लाखेलाई पूतनाको रूपमा हेरीने यो नाच गठेमङ्गलको भोलिपल्ट देखि हरेक दिन मुख्य बजार क्षेत्रहरूमा प्रदर्शन गरिने भएपनि यो वर्ष कोरोना सङ्क्रमणको भयका कारण थोरै दिन मात्र प्रदर्शन गरिएको आयोजक लालिगँुरास युवा क्लबका अध्यक्ष प्रविण श्रेष्ठले बताउनु भयो ।

सदरमुकाम चरिकोटमा झन्डै डेढ सय वर्ष अघिदेखि नेवार समुदायको बसोबास रहँदै आएको स्थानीय ज्येष्ठ नागरिकहरूको भनाई छ । कुनै लिखित दस्ताबेज नभएपनि भक्तपुरको सुकुल ढोकाबाट काभ्रेपलान्चोक जिल्लाको नाङ्ग्रे हुँदै सुरुमा पञ्चवीर श्रेष्ठ र कृष्णवीर श्रेष्ठ दुई दाजुभाइ अहिलेको पुरानो बजारमा आएर बसोबास गरेको इतिहास प्रचलनमा रहेको पाइन्छ । त्यसपछि भक्तपुरकै दत्तात्रयबाट ब्यापारको सिलसिलामा हरिकृष्ण श्रेष्ठ समेत आएपछि चरिकोट पुरानो बजारमा नेवार समुदायको बसोबासमा वृद्धि हुँदै गएको थियो ।

चरिकोट बजारमा नेवार समुदायको बसोबासमा वृद्धि हुँदै गएपछि त्यति बेलाको संस्कृत प्रेमी युवाहरू नारायणकृष्ण श्रेष्ठ, हिरालाल श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, देवीबहादुर श्रेष्ठ, अमृतबहादुर श्रेष्ठ, फत्तबहादुर श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, नारायणलाल श्रेष्ठ, अर्जुनबहादुर श्रेष्ठ, टंक मास्के लगायतले अगुवा अभिभावकहरू रत्नबहादुर श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ, हर्क सुन्दर श्रेष्ठ, रत्ननारायण श्रेष्ठ लगायतको प्रेरणामा लाखे नाच, हिलेजात्रा, मारुनी नाच जस्ता सांस्कृतिक पर्वहरू मनाउँदै आएको चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठ बताउनु हुन्छ । त्यही विगतको परम्परालाई जीवन्त राख्न अहिले लालिगुँरास युवा क्लब र चरिकोट गुठीमा आवद्ध युवाहरूले लाखे नाच लगायतका सांस्कृतिक जात्राहरूलाई निरन्तरता दिँदै आएका छन् ।

लाखे नाच प्रदर्शन अघि गठेमङ्गल (घण्टाकर्ण) को बेलुका नाट्यस्वीको पूजा गरेर परालको राक्षस बनाई बजार घुमाएर चोकमा जलाउने प्रचलन रहेको छ । घण्टाकर्ण राक्षसले बच्चालाई दुख दिने गरेकोले यसरी गठेमङ्गल (घण्टाकर्ण) को दिन त्यसलाई सबैको अगाडि जलाइएको किंवदन्ती पाइन्छ । त्यसरी घण्टाकर्णको दिन परालको राक्षसलाई जलाएपछि भोलिपल्टबाट लाखे नाच प्रदर्शन गरिने र कृष्ण जन्माष्टमीको भोलिपल्ट राति १२ बजे कृष्णले चक्रले हानेर लाखेलाई मारेपछि एक वर्षको लागि लाखे नाच अन्त्य गरिने प्रचलन रहेको आयोजक लालिगुँरास युवा क्लबका अध्यक्ष प्रविण श्रेष्ठले बताउनु भयो ।

यो पटक कोरोना सङ्क्रमणको बीचमै पनि संस्कृतिलाई जीवन्त राख्नको लागि लाखे नाच प्रदर्शन गरिएको तर लाखेको सेनामेना (झुम्रे) हरुलाई समेत माक्स लगाउन दिएर कोरोना विरुद्ध सांस्कृतिक रूपमा चेतना अभिवृद्धि गर्दै जात्रा मनाइएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button