स्थानीयमा कोरोना संक्रमण देखिएपछि तनहुँको देवघाट गाउँपालिका एक हप्ता सिल

तनहुँ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई कोरोना संक्रमण देखिएपछि तनहुँको देवघाट गाउँपालिका सिल गरिएको छ ।
गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने देखिएकाले गाउँपालिका क्षेत्र एक हप्ताका लागि सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।
अध्यक्ष थापाका अनुसार बिहीबारदेखि एक हप्ता गाउँपालिका क्षेत्र सिल गर्ने निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालयमा लेखेर पठाइएको छ ।
चितवनको भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलसहित दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
गाउँपालिकामा दुई जना मात्रै संक्रमित छन् । क्षेत्र विकास समितिका अध्यक्ष पौडेलसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो ।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिनुभएको थियो । उहाँले आफ्नो स्वास्थ्यमा कुनै समस्या नआएको र आफू ठिक अवस्थामा रहेका बताउनुभएको छ ।
आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता नलिन आग्रह गर्दै आफूसँग पछिल्ला केहीदिन यता सम्पर्कमा आएकाहरुलाई क्वारेन्टिनमा बसिदिन र कोरोना परीक्षण गराउन आग्रह समेत गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्