तपाईँ सुन्दै हुनुहुन्छः

धितोपत्र बोर्डद्वारा बुक बिल्डिङ्ग निर्देशिका, २०७७ लागू

काठमाडौं । नेपाल धितोपत्र बार्डले धितोपत्र बजारमा बुक बिल्डिङ्ग विधिलाई कार्यान्वयनमा ल्याउन बुक बिल्डिङ्ग निर्देशिका, २०७७ लागू गरेको छ ।

सञ्चालक बोर्डको साउन २२ गतेको बैठकले बुक बिल्डिङ्ग निर्देशिका जारी गर्ने निर्णय गरेको हो ।

संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरण पत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।

न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकन को आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नु पर्नेछ ।

संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ता बाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्नेछ ।

बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने लगायतका व्यवस्था गरेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button