तीन पदकधारी पाकिस्तानी खेलाडीलाई चार वर्षको प्रतिबन्ध
काठमाडौं । डोपिङ परीक्षणमा असफल देखिएपछि १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का तीन पदकधारी पाकिस्तानी खेलाडीलाई चार वर्षको प्रतिबन्ध गरिएको छ ।
डोपिङ परीक्षणमा असफल पाकिस्तानका तीन खेलाडीलाई साउथ एसियन ओलम्पिक काउन्सिलको एन्टी डोपिङ नियम अनुसार चार वर्षको प्रतिबन्ध गरिएको हो ।
ट्रयाक एण्ड फिल्डको १ सय १० मिटर हडल्समा स्वर्ण विजेता मोहम्मद नइम, ४ सय मिटरका स्वर्ण विजेता मेहबुब अली र सय मिटरमा कास्य विजेता समी उल्लाह डोपिङ परीक्षणमा असफल भएका हुन् ।
खेल लगत्तै उनीहरुबाट संकलन गरिएको स्याम्पल कतारको राजधानी दोहास्थित एन्टी डोपिङ ल्याबमा परीक्षणमा पठाईएको थियो । १३ औं साग नेपालमा मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा पाकिस्तानले ३२ स्वर्ण सहित १ सय ३२ पदक जितेको थियो । पाकिस्तान १४ औं सागको आयोजक समेत रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्