समृद्धि प्राप्तिका लागि युवाको नेतृत्व आवश्यकः मुख्यमन्त्री पौडेल
![]()
मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धिको लक्ष्य पुरा गर्न युवाको समग्र विकास र नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले “युवा” परिवर्तनका संवाहक भएको उल्लेख गर्नुभएको छ ।
“युवा परिवर्तनका संवाहक हुन्, विकास र सिर्जनाका आधारशिला हुन्, यसर्थ युवाको समग्र विकास र नेतृत्व बिना समृद्धिको लक्ष्य पुरा गर्न सकिदैंन । देश र समाजमा देखा परेका चुनौतीहरूको सामना गर्दै युगलाई नेतृत्व गर्ने साहस युवा मै हुन्छ ।” मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीसँग सङ्घर्षरत रहेको अहिलेको परिस्थितमा महामारी विरुद्धको अभियानमा विजय हासिल गर्न पनि युवाको पहलकदमी अति आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
महामारीका कारण हजारौँ युवाले रोजगारी गुमाएको तथा धेरै युवाहरू जोखिममा परेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले युवा सशक्तीकरण, सिप तथा उद्यमशीलताको विकास गरी देश निर्माणमा युवा जनशक्तिलाई परिचालन गर्ने तर्फ नै बाग्मती प्रदेश सरकारका कार्यक्रम लक्षित गरिएको समेत उल्लेख गर्नुभएको छ । उहाँले युवा उद्यमीलाई प्रोत्साहन स्वरूप सहुलियतपूर्ण ऋण प्रदान गर्न प्रदेश सरकारले ३ अर्बको कोष निर्माण गरेको समेत उल्लेख गर्नुभएको छ । बाग्मती प्रदेश सरकारले अहिलेको अवस्थालाई मध्य नजर गर्दै कृषि, उद्योग, व्यापार व्यवसाय, रोजगारी प्रवर्धन, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रवर्धन, पर्यटन प्रवर्धनसँग सम्बन्धित उद्योगहरू, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहोर मैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योग लगायत उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रमका लागि सहुलियत पूर्ण ब्याजदर मा ऋण उपलब्ध गराउन ३ अर्बको कोषको लागि बजेट व्यवस्था गरेको छ ।
शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “नेपाली युवाको बलिदानी को जगमा देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा छ । विगतमा जस्तो अब कुनै पनि युवाले अधिकारका लागि रगत बगाउनुपर्ने छैन । विकास र समृद्धिका लागि पसिना बगाउनुपर्ने छ । व्यवस्था बदल्न सफल भएका छौँ, अवस्था बदल्न सङ्कल्प पर्नुपर्नेछ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसले आम युवाहरूलाई देश निर्माणका लागि थप ऊर्जा, आत्मविश्वास र प्रेरणा दिने विश्वास सहित पुनः सम्पूर्ण युवाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।” यस वर्ष “विश्व अभियानका लागि युवा सहभागिता रोजगारी प्रवर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।








प्रतिक्रिया राख्नुहोस्