क्वारेन्टीनमै करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ मौरीफाँटाकी २३ वर्षीया युवती राधा देवी ओडको क्वारेन्टीनमै करेन्ट लागेर मृत्यु भएको छ ।
मङ्गलवार मात्रै गौरीफण्टा नाका हुँदै नेपाल भित्रिई गाउँकै क्वारेन्टीनमा बसेकी राधाको नुहाइधुवाई गर्ने क्रममा विद्युतीय करेन्ट लागेर मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
मौरीफाँटामा रहेको महाकाली माविको क्वारेन्टीनमा विद्युत् जोड्न टाँगिएको अव्यवस्थित तारबाट करेन्ट लागेर घाइते भएकी राधाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताउनु भएको छ ।
क्वारेन्टीनको उचित व्यवस्थापन नहुँदा राधाले ज्यान गुमाउनु परेकोले आवश्यक छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै बुधवार गुलरियामा प्रदर्शन भएको छ ।
प्रदर्शनमा सहभागीहरूले मृतकका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेका छन् । प्रदर्शनकारीहरुले कृष्णपुर नगरपालिकाको ६ नम्बर वडा कार्यालय र गुलरिया बजार समेत बन्द गराएका छन् ।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले क्वारेन्टीनमा करेन्ट लागेर महिलाको मृत्यु भएको घटना प्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई नगर कार्यपालिकाबाट निर्णय गरी राहत दिइने बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्