नेपाल र भारत सीमा क्षेत्रको विषयमा तयार पारिएको स्ट्रिप नक्साको विषयमा छलफल

काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल र भारत सीमा क्षेत्रको विषयमा तयार पारिएको स्ट्रिप नक्साको विषयमा छलफल गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले कञ्चनपुर जिल्लाका लागि तयार पारिएको स्ट्रिप नक्साको विषयमा सरकार र उजुरीकर्ताहरूसँग छलफल गरेको हो ।
नेपालको धेरै भू–भाग र ताल समेत भारतीय क्षेत्रमा पर्ने गरी स्ट्रिप नक्सा तयार पारिएको लगायतका विषयमा पाँच जना सांसदसहित २२ जनाले समितिमा उजुरी दर्ता गराउनु भएको थियो ।
छलफलमा गृहमन्त्री रामबहादुर थापाले सीमा नक्सा निर्धारणको सिद्धान्त र छिमेकीको अतिक्रमणकारी नीति र चिन्तनका कारण सिमानामा समस्या देखिएको बताउनुभयो ।
नेपाल र भारतबिच सीमा निर्धारण गर्दा नदीलाई सीमा मान्ने सिद्धान्तलाई प्रचलनमा ल्याइएको कारण नदीले धार परिवर्तन गर्दा सीमा परिवर्तन हुने गरेको भन्दै गृहमन्त्री थापाले दुई पक्षबिचको समस्या भएकाले कूटनीतिक माध्यमबाट समाधानका लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने बताउनुभयो ।
गृहमन्त्री थापाले नेपाली भू–भागको र सीमाको रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले यसमा विशेष पहल गर्ने बताउनुहुँदै यसका लागि विशेष योजना बनिरहेको समेत जानकारी गराउनुभयो ।
बैठकमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेपालको अद्यावधिक नक्साभित्र विवादमा रहेको भनिएको कञ्चनपुर लगायतको क्षेत्र समेत समेटिएको स्पष्ट पार्नुभयो ।
उहाँले सीमा क्षेत्रमा नेपालको जमिन भारततर्फ र भारतको केही भूमि नेपालतर्फ परेको स्वीकार गर्दै यो समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताउनभयो ।
छलफलमा जनस्तरबाट गठन गरिएको अन्तर्राष्ट्रिय सीमा सरोकार समिति, कञ्चनपुरका संयोजक पल्लबराज भट्टले कञ्चनपुर लगायतका सीमा क्षेत्रमा लामो समयदेखि समस्या सिर्जना हुँदासमेत सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो ।
उहाँले कञ्चनपुर जिल्लाको सीमा रेखाङ्कनको कार्य रोकेर स्ट्रिप नक्सा पुनरावलोकन गर्नुपर्ने, भत्काइएका र हराएका पिल्लरहरुको खाजी गरी पुरानै ठाउँमा स्थापना गर्नुपर्ने, नेपाली नागरिकहरूले भोग चलन गरिरहेको जग्गा फिर्ता गरिनु पर्ने लगायतका विषयमा सुझाव दिनुभयो ।
छलफलमा सांसदहरू लालबाबु पण्डित, विजय सुब्बा र प्रेम सुवालले नेपाल भारतको सीमा समस्याको विषय अब दुई देशबिच मात्रै राखेर नहुने भन्दै यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्नु पर्ने बताउनुभयो ।
यस्तै सांसदहरू पम्फा भुसाल, यशोदा सुवेदी गुरुङ र रेखा शर्माले कोभिड –१९ को रोकथाम तथा सीमा व्यवस्थापनका लागि समेत नेपाल भारत आवत जावत गर्ने व्यक्तिहरूको यथार्थ विवरण राख्ने प्रभावकारी प्रबन्ध गर्नु पर्नेमा जोड दिनुभयो ।
छलफलमा सांसदहरुले सरकारले कूटनीतिक पहलबाट सीमा समस्या समाधान गर्नु पर्ने, स्ट्रिप नक्साको काम रोकेर पुन अध्ययन गरिनु पर्ने, सीमा समस्या समाधानका लागि सरकारले कार्यान्वयनमा जानु पर्ने र सीमा नाकामा काडेतार लगाउनु पर्ने जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्