कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह
टीकापुर-कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो ।
कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि पानी बढिरहेकाले अझै पानीको सतह बढ्नसक्ने उहाँले बताउनुभयो । उहाँले पहाडतिर भारी वर्षा भएको र नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।
नदीमा पानीको बहाव बढेपछि नेपाल रेडक्रस सोसाइटी टीकापुर, भजनी नगरपालिका र टीकापुर नगरपालिकाले नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।
बस्तीमा बाढी पसेपछि भजनी नगरपालिकाले सोमबार बिहानैबाट जोखिममा रहेका नागरिकलाई उच्च सडकमा सार्न शुरु गरिसकेको स्थानीय उद्धारकर्ता जयप्रसाद ढुङ्गानाले बताउनुभयो । “सयौँ परिवार सडकमा त्रिपाल लगाएर बसिरहनुभएको छ”, ढुङ्गाना भन्नुभयो, “यसपटक बाढीले तहसनहस पारेको छ ।
नागरिकको बिचल्ली भएको छ ।” चिसापानीमा कर्णाली नदीको सतह नौ मिटर पुगे सर्तक, १० मिटर पुगे पूर्वतयारी र ११ मिटर पुगे तटीय क्षेत्रका लागि खतरा मानिन्छ ।








प्रतिक्रिया राख्नुहोस्