तपाईँ सुन्दै हुनुहुन्छः

प्रभावकारी बन्दै स्मार्ट कृषि गाउँ कार्यक्रम

रुपन्देही । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अगाडि सारेको स्मार्ट कृषि गाउँ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा ५२ वटा निर्वाचन क्षेत्रमा यो कार्यक्रम लागू भएकोमा चालु आर्थिक वर्षदेखि एक सय नौ वटै स्थानीय तहमा लागू भएपछि प्रभावकारी बनेको मन्त्रालयको भनाइ छ ।

चालु आर्थिक वर्षको योजना छनोटको काम बाँकी स्थानीय तहमा भदौसम्म गर्ने गरी तयारी गरिएको मन्त्री आरती पौडेलले बताउनुभयो ।

सांसद र गाउँपालिकाबाट सिफारिस आएपछि योजना छनोटको कार्य अगाडि बढ्ने उहाँले जानकारी गराउनुभयो । ४ वर्षे उक्त कार्यक्रममा स्थानीय तहलेसमेत लगानी गर्नुपर्दछ ।

कृषिमा आधुनिकीकरण, उत्पादकत्व वृद्धि र बजारीकरणका लागि प्रदेश ५ का सबै स्थानीय तहमा प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएको हो ।

हाल ७५ गाउँका छ हजार घरधुरी यो कार्यक्रममा समेटिएको मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले घिमिरेको भनाइ छ ।
सबै स्थानीय तहमा लागू भएपछि १२ हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने आङ्कलन मन्त्रालयको छ । चालु आर्थिक वर्षका लागि ४५ करोड रुपैयाँ विनियोजन भएको छ ।

स्मार्ट कृषि गाउँ मापदण्ड अनुसार छनोट सिफारिस भएका गाउँमा सिँचाइको सुविधा, एक स्मार्ट कृषि गाउँमा कम्तीमा ५० घरधुरी परिवार समेटिनुपर्ने, कृषि उत्पादनका लागि पहाडको हकमा कम्तीमा दुई सय ५० रोपनी र तराईको हकमा ५० बिघा जमिन क्लस्टरमा हुनुपर्ने मापदण्ड छ ।

त्यस्तै पशुपालनतर्फ गाई वा भैँसी दुहुनो कम्तीमा तीन सय वटा प्रतिगाउँमा हुनुपर्ने, भेंडाबाख्रा माउ कम्तीमा पाँच सय वटा प्रतिगाउँ, ब्रोइलर कुखुरा कम्तीमा १० हजारप्रति हुनुपर्ने मापदण्ड रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button