कोरोना नियन्त्रण ९१ लाख खर्च

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाले कोरोना नियन्त्रण तथा व्यवस्थापनमा गत आर्थिक बर्षमा ९१ लाख ७७ हजार रुपैंया खर्च गरेको छ । गत फागुनदेखि असार सम्म सो खर्च भएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।
कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ११ ओटै वडामा क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन, आइसोलेसन निर्माण तथा व्यवस्थापन, झुलाघाट नाकामा हेल्थ डेस्क सञ्चालनमा सो रकम खर्च गरिएको उहाँले बताउनुभयो । यस्तै औषधि खरीद, स्वास्थ्य सुरक्षा सामग्री खरीद र व्यवस्थापन, सचेतनामूलक कार्यक्रम सञ्चालनमा खर्च भएको चन्दले जानकारी दिनुभयो ।
झुलाघाट नाकाबाट स्वदेश फर्केका नागरिकहरुलाई गन्त्वयमा पुर्याउन पनि नगरपालिकाका तर्फ खर्च गरिएको उहाँले बताउनुभयो । यस्तै कोरोनाका कारण समस्या परेका नागरिकहरुलाई पनि सोही रकमबाट राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका ११ ओटै वडामा ५ हजार २६० परिवारलाई गत आर्थिक बर्षमा राहत वितरण गरिएको बताइएको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा अहिले पनि नगरपालिका लागिपरेको नगर उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।
नगरपालिकाको कोरोना कोषमा १ करोड ५६ लाख रुपैंया रहेको र सो मध्ये ९१ लाख ७७ हजार खर्च भएको नगरपालिकाका कोभीड १९ सम्पर्क व्यक्ति राजेश खत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्