बाढीले सुत्केरी तथा गर्भवती प्रभावित
टीकापुर-कैलालीको भजनी नगरपालिकाले बाढीले प्रभावित भएका ४२५ सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरेको छ । नगरपालिकाले सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य किट वितरण गरेको हो । ती किटमा दाँत माझ्ने ब्रस, कोलगेट, नुहाउने साबुन, लुगा धुने साबुन, नेल कटर, आमा र शिशुका लागि न्यायो कपडा, महिनावारीको समयमा आवश्यक पर्ने प्याड, लुगा सुकाउने डोरी रहेका छन् ।
नगरपालिकाले पीडित परिवारलाई खाद्यान्न, भाडाकुँडा, त्रिपालजस्ता सामान दिन थालेको छ भने गर्भवती र सुत्केरीलाई अतिआवश्यक पर्ने सामान भएकाले स्वास्थ्य सामग्री भएको झोला नै दिन थालेको उपप्रमुख छाया देवकोटाले बताउनुभयो ।
बाढीको समयमा सुत्केरी र गर्भवतीलाई पोषण अभाव भएकाले नगरपालिकाले उनीहरुका लागि पोषण सहितको प्याकेजसमेत ल्याउने तयारी गरेको छ ।
भजनी–८ की रुपा चौधरीको दुई महिनाकी छोरी छिन् । दुई महिनाकी सुत्केरी रुपा बाढी आएपछि परिवारसँगै विस्थापित हुनुभयो । रुपाको परिवार पाँच दिन पथरैया पुलमा पाल टाँगेर बस्नुभयो ।
सुत्केरी महिलालाई बढी आवश्यकता र समस्या हुने भएकाले विशेष राहत दिनुपर्ने उहाँको माग छ । भजनी–५ की रत्ना धामी गर्भवती हुनुहुन्छ । गर्भवती भएदेखि नियमित अण्डा, दूध खाने उहाँलाई आजभोलि भात खानै समस्या भएको छ । छ महिनाकी गर्भवती रत्ना आफूजस्ता महिलालाई सरकारले बिशेष सहयोग गर्नुपर्ने माग गर्नुहुन्छ ।
भजनी नगरपालिकामा बाढीले एक हजार ६७१ परिवार विस्थापित भएका थिए । पानी घटेपछि उनीहरु घर फर्कने क्रम जारी छ । सामान्य बाढीले प्रभाव पारेका परिवार त दुई हजार बढी छन् ।








प्रतिक्रिया राख्नुहोस्