रुपन्देहीको सैनामैनामा १ सय ८८ जनालाई लालपूर्जा वितरण
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले आइतबार १ सय ८८ जनालाई लालपूर्जा वितरण गरेको छ ।
गाउँब्लकको समस्याका कारण पूस्तौंदेखि खनजोत र भोगचलन गर्दै आएपनि लालपूर्जा पाउन नसकेका स्थानीयलाई लालपूर्जा वितरण गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो ।
गतवर्ष पनि करिब ५ सय जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नगर प्रमुख कार्कीले जानकारी दिनुभयो ।
आफूले खनजोत गरेको जग्गाको पूर्जा पाउन धेरैपटक मालपोत र नगरपालिका धाएपनि नपाउनुभएका सैनामैना झारबैराका ८६ वर्षीय गोले दङ्गोरिया थारुले हातमा पूर्जा छोपेपछि खुसी हुँदै सरकारलाई धन्यवाद दिनुभयो ।
पहिले नापी गर्दा गाउँबस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गाभित्र पर्ने गर्छन् । घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरेको हो ।
जिल्ला नापी कार्यालयका प्रमुख अजित कुँवरले रुपन्देहीमा विगत लामो समयदेखि बाँकी रहेका करिब १४ सय ब्लक नापीहरुमध्ये यस वर्ष करिब ८० गाउँब्लकहरु वितरण गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्