तपाईँ सुन्दै हुनुहुन्छः

तीन वटा नयाँ जातको गहुँ अनुसन्धान


रुपन्देही । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवा रुपन्देहीले तीन वटा नयाँ जातको गहुँ अनुसन्धान गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा ‘एनएल १३०७’, ‘एनएल १३२७’ र ‘एनएल १३६९’ गरी नयाँ तीन जातको गहुँ अनुसन्धान गरेको हो । अनुसन्धानपछि कृषि मन्त्रालयमा रहेको राष्ट्रिय बीउबिजन समितिमा सिफारिसको तयारी भइरहेको गहुँबाली अनुसन्धानका बाली प्रजनक वरिष्ठ वैज्ञानिक दीपक पाण्डेले जानकारी दिनुभयो ।

पहिला खाद्य सुरक्षा भनेर उत्पादन बृद्धिका लागि मात्रै गहुँको जात सिफारिस हुन्थ्यो, अहिले खाद्यान्न विश्लेषण गरेर जिंक तथा आइरन भएका जातहरु अनुसन्धान र उन्मोचनका लागि सिफारिस गरिएको छ । अनुसन्धान गरिएको नयाँ जात तराई क्षेत्रमा प्रयोगमा ल्याइने छ । चालु आवको सिजनबाट प्रयोगमा आउनेछ ।

समितिले प्रयोग गर्नका लागि स्वीकृत दिएर राजपत्रमा सूचना प्रकाशन गरेपछि नयाँ जातको गहुँ कार्यान्वयनमा आउनेछ । यो नयाँ जातमा अन्य गहुँमा भन्दा जिंक र आइरनको मात्रा २५ प्रतिशतले बढी हुन्छ । जसले गर्दा यसको स्वाद मिठो हुनुका साथै मानव स्वास्थ्यका लागि निकै फाइदा गर्छ । यस्तै, उत्पादन र उत्पादकत्वसमेत राम्रो हुने अपेक्षा गरिएको छ ।

तराईमा राम्रो उत्पादन हुँदै आएका भृकुटी, गौतम जातको गहुँमा पछिल्लो समय खैरो सिन्दुरे, डढुवाजस्ता रोगको प्रकोप बढ्दै गएको छ । यसको विकल्पमा जिंक र आइरनको मात्रा पनि बढी भएको र रोग लाग्ने सम्भावनासमेत न्यून भएका नयाँ जातको गहुँ अनुसन्धान गरिएको पाण्डेको भनाइ छ ।

कार्यालयले ४६ वर्षदेखि गहँुको जातीय विकास, गहुँसँग सम्बन्धित प्रविधिको विकास, गहुँको स्रोत तथा बीउको विकासमा अनुसन्धान गर्दै आएको छ । यो अवधिमा ४७ जातका गहुँ अनुसन्धान भइसकेको छ । यीमध्ये ३२ जातको गहुँ नेपालमा खेती हुँदै आएको छ । कार्यालयकाअनुसार तराईमा १८, पहाडमा १२ र उच्च पहाडमा २ जातको गहुँको खेती हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button