लिखुले बगाएका युवा भेटिएनन्ः कुशको शव बनाएर दाहसंस्कार
ओखलढुङ्गा । लिखु नदिले बगाएर बेपत्ता भएका ओखलढुङ्गाका एक युवा फेला नपरेपछि परिवारले अन्तिम दाहसंस्कार गरेका छन् । जिल्लाको चम्पादेवी गाउँपालिका १० रानीवन निगालेका ३६ वर्षीय रोहित कुमार ढुङ्गेललाई गत बुधवार लिखु नदिले बगाएको थियो । नदिले बगाएका ढुङ्गेलको उद्धार गर्न नसकिएको र शव समेत नभेटिएपछि जीवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको हो ।
ढुङ्गेल गत बुधवार बुबा र ससुरासँग गोठ सार्न गएका थिए । गाई बाख्रा खोला तार्ने क्रममा ससुरालाई नदिले बगाउन खोजेपछि ससुरा बचाउने क्रममा उनलाई नदिले बगाएको थियो ।
प्रहरी र स्थानीय निरन्तर खोजी गर्दा पनि फेला पार्न नसके पछि परिवारले शुक्रवार कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको चम्पादेवी १० का वडाध्यक्ष उज्जन बुढाथोकीले जानकारी दिनुभयो । ‘उहाँलाई नदिले बगाएको सुन्ना साथ प्रहरी र स्थानीय सबैले निरन्तर खोजियो, फेला पार्न सकिएन ।’ वडा अध्यक्ष बुढाथोकीले भन्नुभयो, ‘कुशको शव बनाएर दाहसंस्कार गरी परिवारले आफ्नो संस्कार अनुसार काजकिरीयाको काम थालेको छ ।’ नदिले बगाएर बेपत्ता भएका ढुङ्गेलका श्रीमती र २ सन्तान छन् ।
प्रहरीले भने ढुङ्गेलको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले बताउनुभयो । जिल्ला भित्रका लिखु नदी किनारमा जिल्लाकै प्रहरी जनशक्ति र अन्य जिल्लाको प्रहरीलाई समेत सूचना दिएर शव खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
ओखलढुङ्गामा वर्षेनी बाढी पहिरोबाट ठुलो जनधनको क्षति हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्