बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत सिद्ध बाबा क्षेत्रको जोखिमको स्थायी समाधान खोज्न आग्रह

रुपन्देही । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत सिद्ध बाबा क्षेत्रको जोखिमको स्थायी समाधान खोज्न नागरिक अगुवा एवम् राजनीतिज्ञहरूले सरकारलाई आग्रह गर्नुभएको छ ।
मृत्यु मार्गको परिचय बनाएको यो सडक खण्डको स्थायी समाधानको लागि पहल गर्न प्रदेश ५ सरकारलाई उहाँहरूको आग्रह गर्नुभएको हो ।
बुटवलमा आयोजित जोखिमपूर्ण सिद्ध बाबा सडक खण्ड र स्थायी समाधान विषय अन्तर संवादमा बाल्दै उहाँहरूले यस्तो विचार राख्नुभएको हो ।
कार्यक्रममा प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले सिद्ध बाबा पहिरोको समस्या समाधान गर्नका लागि प्राथमिकताका साथ योजना तय गरेको बताउनुभयो ।
उहाँले बुटवल धागो कारखाना हुँदै चरंगे झुम्सालाई वैकल्पिक सडक खण्डका रूपमा तीन वर्षदेखि बजेट छुट्टाएर काम गरेको बताउनुभयो । सङ्घीय सरकारले सुरुङ मार्ग निर्माण गर्ने योजना अघि बढाएकाले प्रदेश सरकारले वैकल्पिक सडकलाई प्राथमिकतामा राखेको मन्त्री चौधरीको भनाई छ ।
बुटवल नुवाकोट दोभानलाई यात्रुवाहक र चरंगे झुम्सा सडकलाई टिप्परका रूपमा प्रयोग गर्ने मन्त्री चौधरीले बताउनुभयो ।
संविधानसभा सदस्य नेत्र पन्थीले सिद्धार्थ राजमार्ग स्थापना भएदेखि नै सिद्ध बाबा क्षेत्रमा समस्या देखिएकाले यसको स्थायी रूपमा समाधान गर्ने गरी प्रदेश सरकारले अगुवाइ गर्नुपर्ने बताउनुभयो ।
संविधानसभा सदस्य विनोद पहाडीले हवाई विकासका पत्रहरू बारम्बार आउने गरे पनि सिद्ध बाबा क्षेत्रको जोखिम समाधान गर्ने गरी विकास भने हुन नसकेको बताउनुभयो ।
प्रदेश ५ सरकारले बुटवल धागो कारखाना हुँदै चरंगे झुम्सा सडक खण्डका लागि भने आर्थिक वर्ष ०७७÷७८ का लागि साढे १४ करोड बजेट छुट्ट्याएको भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता इन्जिनियर भिर्माजुन पाण्डेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्