तपाईँ सुन्दै हुनुहुन्छः

डढुवा रोगले आलु उत्पादन ह्वात्तै घट्यो


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष आलु उत्पादनमा भारी गिरावट आएको छ । जिल्लाको आठवटै स्थानीय तहको अधिकांश स्थानमा खेती हुने आलु प्रतिहेक्टर तीन मेट्रिकटनले घटेको हो ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार आलुको पकेट क्षेत्र समेत रहेको जिल्लाको माथिल्लो भेगमा आलु उत्पादन क्षेत्र प्रत्येक वर्ष बढे पनि आलु उत्पादनमा गिरावट आएको छ । आकाशे पानी धेरै परेपछि डढुवा लगायतका रोग लागेकाले उत्पादन घटेको बताइएको छ ।

कतिपय स्थानमा पानीकै कारण बारीमै आलु कुहिएको कृषकहरुले बताएका छन् । सोलुदूधकुण्ड नगरपालिका–५ की आलु किसान काण्डु शेर्पाका अनुसार आलु फल्ने समयमा लगातारको झरीले आलुको बोट मरेको र बारीमा नै आलु कुहिएको छ । आलु छिप्पिन नपाउँदै रोगका कारण सबै बोट मरेकाले आलु उत्पादनमा धेरै कमी आएको उहाँको भनाइ छ ।

वार्षिक रुपमा राम्रै आलु उत्पादन गर्दै आउनु भएका गार्माका कृषक सुर्यबहादुर श्रेष्ठले यस वर्ष आलुको दाना बढ्ने समयमा रोगका कारण बोट मरेपछि आलु उत्पादनमा ठूलो नोक्सान भएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्रमा रहेको तथ्याङक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा १० हजार ९९ हेक्टर जमिनमा एक लाख ३१ हजार २८७ मेट्रिकटन आलु उत्पादन भएको थियो । गत आर्थिक वर्षमा प्रतिहेक्टर १३ मेट्रिकटनका दरले आलु उत्पादन भएको थियो ।

यो अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को तुलनामा तीन मेट्रिकटनले कमी हो । सोही आर्थिक वर्षमा १० हजार ९६ हेक्टर जमिनमा प्रतिहेक्टर १६ मेट्रिकटनका दरले एक लाख ६२ हजार २९६ मेट्रिकटन आलु उत्पादन भएको थियो ।

यताका वर्षहरुमा यातायातको पहुँच पुगेसँगै जिल्लामा उत्पादन भएको आलुमा करिब ५० प्रतिशत छिमेकी जिल्ला तथा तराईमा निर्यात हुने बताइएको थालेको छ । आलु सङ्कलन गर्ने व्यापारीहरु प्रत्यक्ष किसानसँग आउने र ढुवानी गर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button