सुनसान छन् पाल्पाका होटेल

पाल्पा । सरकारले होटेल तथा रेस्टुरेन्ट खोल्ने निर्णय गरेअनुसार बिहीबारबाट पाल्पाका विभिन्न क्षेत्रका होटेल खुलेका छन् । होटेल व्यवसायीले लकडाउन पछि होटेल खोलेपनी ग्राहक आएका छैनन् ।
आन्तरिक तथा बाह्य पर्यटक नआउँदा पर्यटनको कारणले राम्रो व्यवसाय गरिरहेका पाल्पाली होटेल यत्तिखेर सुनसान छन् । सरकारले होटेल खोल्न दिएपनी गाडी कम मात्रामा चल्दा आन्तरिक पर्यटकहरू पनि नआएका हुन् ।
कोरोना र कोरोनापछिको लकडाउन खुले पनि मुलुकको अर्थतन्त्र सहित सबै क्षेत्र प्रभावित हुन पुगेको छ । बजार उद्योग कलकारखाना उत्पादनदेखि रोजगारीका अवसरहरू समेत गुम्दा धेरैको रोजीरोटी गुम्न पुगेको छ । पाल्पा होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष मोहन श्रेष्ठले बाह्य पर्यटक आउने वातावरण नै नभएको बताउनुभयो । “हिँड्ने, घुम्ने वातावरण नै छैन । नागरिकहरू कोरोना भाईरस सङ्क्रमणबाट त्रसित छन् ।” उहाँले बताउनुभयो ।
कुनै बेला थामिनसक्नु पाहुनाको भीड अब सुनसान अवस्थामा पुगेपछि साना तथा मझौला व्यवसायीहरूलाई निकै अप्ठेरो भएको श्रेष्ठले बताउनुभयो । “हिजोका दिनमा होटेलमा बास नपाएर ग्राहकलाई अन्तै पठाइन्थ्यो भने आज यहीँ नै भएका कोठाहरू चित्ता छन् ।” उहाँले भन्नुभयो । “कर्मचारीहरूलाई तलब दिन र घर बहाल तिर्न समेत धौ धौ भएको छ ।”
बैङ्कको चर्को ब्याजले साँवा त कहाँ हो कहाँ, ब्याज तिर्न नै कठिन भएको श्रेष्ठले बताउनुभयो । पाल्पामा आन्तरिक भन्दा पनि बाह्य पर्यटकहरूले होटेल व्यवसाय धानिरहेको हुँदा कोरोनाले होटेल व्यवसायीहरू निकै मारमा परेको उहाँले बताउनुभयो ।
सर्वसाधारणदेखि उद्योगी व्यवसायी, नागरिक समाज, उपभोक्ताकर्मीहरू सबैलाई प्रभाव परेको छ । होटेल व्यवसाय नचल्दा जिल्लामा खपत हुने तरकारी लगायतका उत्पादन पनि बिक्रीका लागी असहज परिस्थिति निर्माण भएको छ ।
तानसेन नगरपालिका वडा नं. ९ का खेम बहादुर बौडेलले जिल्लाका हेटल व्यवसाय नचल्दा यहाँको उत्पादित तरकारीले राम्रो मूल्य पाउन नसकेको बताउनुभयो । जिल्लाका होटलहरुले यहाँको तरकारीको माग धेरै हुन्थ्यो तर अहिले बिक्री गर्ने अवस्था असहज हुनुको साथै बिक्री नै कम भएको उहाँले बताउनुभयो ।
“लकडाउन त खुल्यो तर अझै पनि सहज तरिकाले हिँड्ने वातावरण छैन ।” बौडेलले भन्नुभयो । “देश तथा विदेशबाट विभिन्न पर्यटकहरू पाल्पा आउँथे, यहाँका होटलहरु भरिभराउ हुन्थे र पो यहाँको तरकारी पनि बिक्थ्यो र उचित मूल्य पनि पाउँथ्यो ।” जिल्लाका होटेल सुनसान हुँदा किसानहरूलाई पनि निकै गाह्रो भएको उहाँले बताउनुभयो ।
यहाँका होटेल सञ्चालनका लागि आन्तरिक र बाह्य पर्यटकको आगमन पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ । लकडाउनले पाल्पामा पर्यटक आउन रोकिएपछि होटेल व्यवसायीलाई समस्या परेको तानसेन ८ डुम्रेका होटेल व्यवसायी कमल पचभैयाले बताउनुभयो ।
‘पर्यटक आउलान्, बस्लान् भनेर होटेल खोलेका होइनौ । होटेल खुला छ भन्ने जानकारी दिनको लागी मात्र खोकेका छौँ । व्यापार व्यवसाय केही छैन ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘लकडाउनको अवधिमा आन्तरिक र बाह्य पर्यटक आउन नपाएपछि प्रत्येक होटलले २५ देखी ३० करोड रुपैंया सम्म आम्दानी गुमाएको श्रेष्ठले जानकारी दिनुभयो । पाल्पामा सानाठूला गरी २०० भन्दा धेरै होटेल सञ्चालनमा छन् । लकडाउनले होटेल व्यवसाय बन्द हुँदा दैनिक १५ देखि २० लाख रुपैयाँसम्म क्षति बेहोरेको उहाँले बताउनुभयो ।
‘ग्राहक आउँछन् र व्यापार व्यवसाय होला भनने आश नै छैन । सहज परिस्थिति नबन्दा सम्म यस्तै होला भन्ने जस्तो छ,’ उहाँले भन्नुभयो, ‘ सावधानीका उपाय भने पूर्ण तयारी गरेर बसेका छौँ’ पाल्पाका सबैजसो होटलले २५ पतिशत मात्र कामदार राखेर होटेल कुर्ने काम मात्र भएको उहाँले बताउनुभयो ।
ग्राहक आएमा मास्क अनिवार्य गर्ने, स्यानिटाइजरको प्रयोग गर्न लगाउने र खाना प्याकिङ गरी खुवाउने व्यवस्थासहित तयारी थालिएको उहाँले बताउनुभयो । यहाँका होटेलमा बास बस्ने पर्यटक आन्तरिक सहित भारतीय र तेस्रो मुलुकका बढी हुने गर्दछन् । अन्य क्षेत्र खुला नहुँदा सम्म होटेल व्यवसाय मात्र खोलेर व्यापार नहुने व्यवसायीहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्