तपाईँ सुन्दै हुनुहुन्छः

रोकियो जात्रा

बागलुङ-कोरोना सङ्क्रमणको जोखिम हुन नदिन यहाँको नेवार समुदायमा प्रचलित जात्रा र नाचहरु स्थगन गरिएको छ । भदौरे जात्राअन्तर्गतका सबै नाच यस वर्ष नदेखाउने निर्णय भएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले जानकारी दिनुभयो ।

नेवार समुदायका कलाकारले वर्षेनी जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म लाखे, बास्सा, रोपाइँ, जोगी, होवा, घोडा, कटुवाललगायतका नाच प्रदर्शन गर्थे । लाखेनाच त घण्टाकर्ण पर्वदेखि तीजसम्मै देखाउने चलन छ । घण्टाकर्ण, गाईजात्रा पर्व भने सुरक्षा सावधानीसहित मनाइएको थियो । गाईजात्रामा वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा तःहामचा निकाल्नैपर्ने परम्परा भएकाले रोक्न नसकिएको नेपाल भाषा मंकाःखलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

लाखेलगायत थोरै कलाकार भए पुग्ने नाच देखाउने सोच बनाइए पनि कोरोना सङ्क्रमणको जोखिम थप बढेकाले स्थगन गर्नु नै उचित भएको उहाँको भनाइ छ । समाज र खलः भएर परम्परागत नाचको संरक्षण गर्दै आएका छन् । स्थिति ठिकठाक हुन्थ्यो भने अहिले बागलुङ बजारमा जात्राको रौनक छाउँथ्यो ।

तीन सय वर्षअघि भक्तपुरबाट आउँदासँगै ल्याएको जात्राको परम्परालाई नेवारहरुले जीवित राखेका छन् । भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रुपमा जात्रालाई लिइन्छ । भक्तपुर, धुलिखेल र भादगाउँबाट भित्रिएका नेवार जातिले बागलुङमा भदोरै जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटा बताउनुहुन्छ । जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको उहाँको भनाइ छ ।

जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । संरक्षण अभावमा कतिपय नाच भने हराएको नेवार समुदायका अगुवा बताउँछन् । यसै त परम्परा जोगाउनै मुस्किल भइरहेका बेला कोरोना महामारीले थप प्रतिकूलता निम्त्याएको छ ।

पुस्तान्तरणको अभावमा नागनागिनीसहित कतिपय नाच हराइसकेका छन् । पछिल्लो समय लाखे नाच्ने कलाकारको पनि खाँचो खड्किने गरेको छ । आउँदा वर्षमा भदोरै जात्राले निरन्तरता पाउने समाजका सचिव शाक्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button