तपाईँ सुन्दै हुनुहुन्छः

आइसोलेसनमा उपकरणको अभावले समस्या

सप्तरी । सप्तरीको राजविराज स्थित साईकृष्णा मेडिकल कलेजको आइसोलेसन कक्षमा आवश्यक उपकरणको अभाव देखिएको छ । बिहीबार अनुगमनको क्रममा आइसोलेशन कक्षमा यस्तो समस्या देखिएको छ । अनुगमनका क्रममा पुगेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्तासँग कुरा गर्दै आइसोलेसन व्यवस्थापन पक्षले केही अतिआवश्यक उपकरणको अभावका कारण जोखिमको सम्भावना बढेको जानकारी गराएका छन् ।

एक सय ७८ वेड क्षमताको सो आइसोलेसन कक्षमा हाल १ सय १९ जना संक्रमित उपचारका क्रममा छन् । तर, उक्त आइसोलेसनमा एउटा पनि आइसियु तथा भेन्टिलेटर उपकरण जडान गरिएको छैन् ।

काँग्रेसका यूवा नेता इर्साद अन्सारीले भने, “मुलुकको सर्वाधिक ठूलो भनिएको आइसोलेसन कक्षमा एउटा पनि भेन्टिलेटर र आइसियु वार्ड नहुनु दुर्भाग्य हो ।” आइसोलेसन वार्ड व्यवस्थापन समितिका प्रमुख समेत रहेका गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले भेन्टिलेटर र आइसियु उपकरणका लागि आफूले निकै समयदेखी पहल गरेपनि आश्वासन मात्र पाएको बताउनु भयो ।

संक्रमितको अवस्था विग्रिए भेन्टिलेटर र आइसियुको अभावमा ज्यानै जाने खतरा आउन सक्छ, उहाँले भन्नुभयो “त्यसैले समयमै त्यस्ता उपकरण उपलब्ध गराउन प्रदेश तथा संघीय सरकार सामु पटक पटक जानकारी सहित आग्रह गरेका छौं ।”

अनुगमन टोलीको नेतृत्व गरेका अन्सारीले आइसोलेसनमा विगतको तुलनामा खाना, खाजा र सरसफाई उल्लेख्नीय सुधार देखिएपनि स्वास्थ्य उपकरणको अभाव रहेको र यसबारे आफूहरुले पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने तयारी थालिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button