सप्तरीमा एकै दिन ४३ जनाले कोराना जिते
राजविराज । सप्तरीमा एकैदिन ४३ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणबाट मृत्यु भएका परिवारका पाँच जना, छिमेकी र सीधा सम्पर्कमा आएका एक नर्स दम्पती सहित ४३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाई गएराति साई कृष्णा आइसोलेसनबाट डिस्चार्ज गरी घर पठाइएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट निको भएको संख्या ३७९ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । गत साउन १ गते राजविराज नगरपालिका वडा नं. ६ निवासी ७३ वर्षीय व्यापारीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उहाँको सीधा सम्पर्कमा आएका श्रीमती छोरा, बुहारी, नाति नातिनी, नर्स दम्पती सहित कोरोना संक्रमण भेटिएपछि १२ जना होम आइसोलेसनमा बसेका थिए । व्यापारीबाटै उनीहरू सहित छरछिमेक र अन्य सीधा सम्पर्कमा आएका ४३ जना संक्रमित भएको थियो ।
जिल्लामा बिहीबारसम्म कुल संक्र्रमितको संख्या ५३९ रहेको छ । हाल ११० जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो । जिल्लामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्