तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकीमा डेढ वर्षीय बालकको मृत्यु

तनहुँ । तनहुँको शुक्लागण्डकीमा चितुवाको आक्रमणबाट बुधबार साँझ डेढ वर्षीय बालकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–२ मसारमा चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका कान्छा छोरा नारायण राना रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

साँझ घरको पिढीमा बसिरहेको बेला चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको प्रमुख बरालले बताउनुभयो ।

स्थानीयले खोजी गर्दा घरबाट केही पर जिपे बाझोगरा भन्ने स्थानमा बालकको दाहिने हात र टाउको मात्रै फेला परेको प्रमुख बरालले जानकारी दिनुभयो ।

घटनास्थलतर्फ डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालसहित शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, उपप्रमुख सविता रसाइली लगायतको टोलि जादै हुनुहुन्छ ।
गत साउन १७ गते शनिबार मात्रै जिल्लाको आबुखैरेनी–१ समस्तिपुरमा चितुवाको आक्रमणमा परि १० वर्षीया अमिशा थापा घाइते भएकी थिइन ।

२०७४ फागुनयता चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।

पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते हुनुभएको थियो ।

त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवाको आक्रमणबाट शुरु भएपछि स्थानीयवासी त्रसित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button