लोकमार्गको काम शुरु
गलकोट-राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङअन्तर्गत बागलुङ बजारबाट अक्षेते खण्डको पुनः काम शुरु भएको छ । लकडाउनका कारण गतचैत ११ गतेदेखि रोकिएको लोकमार्गको सदरमुकामतर्फको खण्डमा नाली निर्माण कार्यले गति लिन थालेको छ । यस खण्ड विगत लामो समयदेखि अलपत्र अवस्थामा छ ।
ग्रामीण क्षेत्रमा लोकमार्गको स्तरोन्नतिसहित कालोपत्रे भइसक्दासमेत काम नभएको नागरिकको तीव्र गुनासोका बीच मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतको अन्तिम चेतावनीपछि निर्माण कम्पनीले गत वर्षको असारमा काम सक्ने गरी मजदूर खटाएको थियो । कोरोना जोखिमले बीचमै काम ठप्प भएको थियो ।
अहिले यस खण्डमा निरन्तरको वर्षातका कारण बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा सडक भाँसिने, पहिरो जाने कारण यात्रुले सास्ती खेपिरेहको समयमा सदरमुकाम खण्डको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सिद्धि शाही कन्ट्रक्सनले १५० को हाराहारीमा कामदार ल्याएर दुई हप्तादेखि नाली निर्माण, मेशिनरी वाललगायतका कार्य गरिरहेको छ । लोकमार्गको बोक्सेमा निरन्तरको पहिरोले लोकमार्ग पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
करिव १५० को हाराहारीमा मजदूरले लोकमार्गको विभिन्न खण्डमा दुई हप्तादेखि सडक निर्माणमा खटिएको रोल्पा घर भएका जीवन मगरले बताउनुभयो । उहाँले घरमै बसेर पेट पाल्नै गाह्रो भएपछि काममा निस्किएको बताउनुभयो ।
त्यस्तै रोल्पाकै रोहित घर्तीमगरले सामान्य सतर्कता अपनाएर काममा खटिएको जानकारी दिनुभयो । पहिलो चरणमा नाली निर्माणको कार्यलाई अघि बढाएको र हालसम्म झण्डै एक किलोमिटर सडक नाली निर्माण गरिसकिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका साइड इञ्जिनीयर उज्वल शर्माले जानकारी दिनुभयो ।
अहिले रातामाटादेखि भोर्लाको रुख हुँदै रेडक्रसको भवनसम्म सडक नाली निर्माण थालिएको छ । सदरमुकाम खण्डको बोक्से खाल्टोबाहेकको स्थानमा सडक चौडा पार्ने कार्य सम्पन्न भइसकेकाले नाली निर्माणपश्चात् कालोपत्रे गर्ने लोकमार्ग आयोजनाको तयारी छ । गत चैत ११ देखि रोकिएको लोकमार्ग वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएर क्षतविक्षत अवस्थामा छ । निर्माण कार्य शुरु गर्ने र केही समयपश्चात् निर्माण कम्पनी सम्र्पकविहीन हुने कारणले बागलुङ सदरमुकाम खण्डको २५ किलोमिटर दुर्गम भागमा कालोपत्रे भइसक्दासमेत सदरमुकाम खण्ड कालोपत्रे हुन सकेको छैन ।
निर्माण व्यवसायीलाई लोकमार्ग कालोपत्रेका लागि अन्तिम मौका प्रदान गरेको लोकमार्ग आयोजना प्रमुख आशिष थापाले जानकारी दिनुभयो । लगातारको वर्षाका कारण पहिरो गएपछि मध्यपहाडी लोकमार्गअन्तर्गत बोक्सेमा एकतर्फी मात्रै सडक सञ्चालनमा ल्याइएको छ । लोकमार्गमा पहिरो ठूलो भएको र दुइतर्फी सञ्चालनमा ल्याउदा पुनः सडक अवरुद्ध हुने जोखिम भएकाले एकतर्फी मात्रै सडक सञ्चालन गरिएको इञ्जिनीयर शर्माले जानकारी दिनुभयो ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा पर्ने १४० किलोमिटर सडकमध्ये अधिकांश सडक कालोपत्रे भइसक्दासमेत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर सडक कालोपत्रे हुन नसक्दा दैनिक हजारौँ यात्रुले सास्ती खेप्दै आएका छन् । पहिरोले तीन परिवार विस्थापित जिल्लाको बागलुङ नगरपालिका–८ सिगानामा अविरल वर्षसँगै गएको पहिरोका कारण तीन घर परिवार विस्थापित भएका छन् भने छ घर पहिरोको उच्च जोखिममा रहका छन् ।
निरन्तरको वर्षात्का कारण बस्तीमाथिबाट आएको पहिरोले स्थानीय तीन घर बसाई सरेर आफन्तको घरमा आश्रय लिएर बसेका छन् भने छ घर पहिरोको उच्च जोखिममा रहेको छ । साँयकोट लामाचौर सडकको २०० भन्दा बढी माथिबाट खसेको पहिरोसहित आसपासको जमिन चिराचिरा परेपछि स्थानीय त्रसित भएको विस्थापित पवित्रा गौतमले बताउनुभयो ।
गौतमसहित देवेन्द्र कार्की र डोलेन्द्र कार्कीको परिवार विस्थापित भएको हो । पहिरोका कारण पहिरो आसपासका भद्रबहादुर कार्की, देवबहादुर कार्की, बमबहादुर कार्की, कोपिला कार्की, हर्कबहादुर कार्की, रुपेश कार्कीको घर उच्च जोखिममा रहेको छ ।
पहिरो गएको स्थानमा पानीको मुहान रहेको र कमजोर भूभाग रहेका कारण जति बेला पनि बस्ती पुरिन सक्ने स्थानीयको भनाइ रहेको छ । बस्तीमाथिबाट खसिरहेको पहिरो रोकथामका लागि स्थानीय निकायले पहल गर्नुपर्ने स्थानीयले बताएका छन् । पहिरोका कारण सायकोटमा आपूर्ति भइरहेको ६५ घर परिवारको खानेपानीको पाइपसमेत बगाउँदा खानेपानीका समस्या भएको छ ।








प्रतिक्रिया राख्नुहोस्