तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी पाइप तोडफोडको आरोपमा पक्राउ परेकालाई ५ दिन म्याद थप


सुनसरीे । सुनसरी धरान–१३ फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा बन्दै गरेको इन्टेकमा बिछ्याइएको पाइप तोडफोड गरेको आरोपमा पक्राउ परेका हर्क साम्पाङ राईलाई जिल्ला अदालत सुनसरी बाट ५ दिन म्याद थप गरिएको छ ।

सुनसरी अदालतबाट सार्वजनिक सम्पत्ति हानी नोक्सानीको मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

धरान उपमहानगरपालिका खानेपानी व्यवस्थापन बोर्डले मङ्गलवार बेलुका हर्क साम्पाङ र खानेपानी संस्थानका रामकुमार श्रेष्ठलाई किटानी जाहेरी दिए पछि साम्पाङ घरबाटै पक्राउ परेका थिए । श्रेष्ठ फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । मुहानमा बिछ्याइएको पाइप लाइनमा गत आइतबार हर्क साम्पाङ राई सहितको २५ ।३० जनाको समूहले तोडफोड गरेका थिए ।

मुलुकी अपराध संहिता ऐन २०७४, भाग २ को परिच्छेद २ सार्वजनिक शान्ति विरुद्धको कसुरको दफा ६८ मा सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने भनी उल्लेख छ । दफा ७३ मा आवश्यक वस्तु तोडफोड वा हानि, नोक्सानी गर्न नहुने, कसैले यस परिच्छेद अन्तर्गतको कुनै कसुर गरी कानुन बमोजिम आवश्यक वस्तु मानिने कुनै वस्तु वा सार्वजनिक वा निजी सम्पत्ति हानि नोक्सानी तोडफोड वा आगजनी गर्न वा गराउन वा अरू कसैलाई प्रयोग गरी वा आफैँले त्यस्तो वस्तु वा सम्पत्ति बिगार्नु हुँदैन भनी उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button