तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना अस्पतालका संक्रमितलाई सेवा दिन रोबोट

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले बुटवलमा संचालन गरेको कोरोना विशेष अस्पतालमा बिरामीलाई औषधी पुर्याउन सिस्टर रोबोट प्रयोग गरिने भएको छ ।

संक्रमितसंग हेलमेल भइराख्नुपर्ने स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट जोगाउन रोबोटले सहयोग पुग्ने सो अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो ।

युएनडिपीले उपलब्ध गराएको रोबोट युएनडिपिका प्रदेश संयोजक सुदीप अर्याल र प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण खनालले डा. थापालाई हस्तान्तरण गर्नुभयो ।

नर्सले बिरामीलाई गर्ने हेरचाह रोबोटले गर्ने भएकाले त्यसको नाम सिष्टर रोबोट नाम राखिएको हो ।

कोरोनाका लक्षण देखिएका, सिकिस्त र आइसीयुमा राख्नुपर्ने बिरामीलाई यो अस्पतालमा राखिएको छ । २ लाख लागतको रोबोट रोबिक एसोसिएसन नेपालले तयार गरेको हो ।

एसोसिएसनका अध्यक्ष विकास गुरुङका अनुसार रिमोटको कन्ट्रोलबाट चल्ने रोबोटले औषधी, खानेकुरा, लुगा बिरामीसम्म पुर्याउन सक्छ ।

रोबोटमा भिडियोबाट ५ सय मिटर परसम्मको भिडियो लिन सकिन्छ । भिडियो क्यामेराका माध्यमबाट बिरामीसँग लाइभ हेर्न सकिन्छ । ट्याब्लेट प्रयोग गरिएकाले नर्स र बिरामीबीच कुरा गर्न सकिन्छ ।

युएनडिपीले काठमाडौंको टेकु अस्पतालमा पनि सिष्टर रोबोट उपलब्ध गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button