तपाईँ सुन्दै हुनुहुन्छः

झापामा आजदेखि पीसीआर प्रयोगशाला सञ्चालनमा

भद्रपुर, झापा । झापामा आजदेखि कोभिड–१९ परीक्षण गर्ने पीसीआर प्रयोगशाला सञ्चालनमा आएको छ ।

प्रदेश नं १ सरकारले पीसीआर मेशिन उपलब्ध गराएपछि जिल्लाको सदरमुकाम भद्रपुरस्थित मेची अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

देशभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेका बेला झापालगायत इलाम, पाँचथर, ताप्लेजुङसमेतका बिरामीलाई सेवा दिने गरी सञ्चालनमा ल्याइएको प्रयोगशालाको एक संक्षिप्त कार्यक्रमका बिच प्रतिनिधिसभा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेल र प्रदेश नं १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बुधवार अपराह्न उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा झापाका प्रदेशस्तरीय सांसदहरूको उपस्थिति थियो ।

पहिलो दिन अस्पताल आइसोलेसनमा बसिरहेका पाँच जना बिरामीको स्वाब परीक्षण गरिने र तिनै बिरामीका स्वाब प्रदेशस्तरीय प्रयोगशालामा पठाई क्रस चेक गरिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिनुभयो ।

दुवै प्रयोगशालाको रिपोर्ट एउटै आएमा शुक्रवारदेखि नियमित रूपमा सङ्कलित स्वाब परीक्षण गरिने, फरक परेमा कैफियत देखिएको प्राविधिक पक्षलाई मिलाएर परीक्षण सुरु गरिने उहाँको भनाई छ ।

दैनिक एक हजार जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेको सो प्रयोगशालामा तत्काललाई दुई सय जति स्वाब परीक्षण गरिने र जनशक्ति पूरा भएपछि पूर्ण क्षमतामा स्वाब परीक्षण गरिने अस्पताल विकास समितिका सभापति जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button