सप्तरीमा कोरोनासँग मिल्दो लक्षण भएका तीन जनाको मृत्यु

सप्तरी । सप्तरीमा कोरोना भाइरससँग मिल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका–५ का ४५ वर्षीय पुरुष, राज गढ गाउँपालिकाका–७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
रुपनी गाउँपालिका–५ का ४५ वर्षीय पुरुष एक÷डेढ महिनाअघि मलेसियाबाट फर्किएर घरमै बसेका थिए । यसैबिचमा उनलाई ज्वरो र दमको समस्या देखिएपछि मङ्गलवार राजविराज ल्याइएको थियो ।
उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार हुन नसकेपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताउनुभयो ।
‘कोरोनाको लक्षण देखिएपछि हामीले पहिला नै उनलाई चेक गराउन प्रयास गरेका थियौ’ उहाँले भन्नुभयो–‘राजविराजमै गराउँछु भनेपछि हामीले छोड्याँै। तर उनले चेक गराएनन् ।’ ज्वरो आउन थालेपछि क्लिनिकबाट औषधी खाँदै गरेकोसम्म आफूहरूले जानकारी पाएको यादवले बताउनुभयो ।
परिवारका सदस्यले धरानबाट फर्काएर शव जलाउने तयारी गरिरहेको अवस्थामा आफूले रोकेको र स्वाब परीक्षणको व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।
‘परिवारका सदस्यहरू अहिले पनि कोरोना छैन भनेर ठोकुवा गरिरहेका छन्, तर लक्षण हेर्दा हामीलाई शङ्का छ’ उहाँले थप्नुभयो–‘स्वास्थ्यकर्मीहरू बोलाएका छौँ । स्वाब सङ्कलन भइरहेको छ ।’
स्वाब सङ्कलनको काम सम्पन्न भएपछि शव जलाउन दिइने उहाँले बताउनुभयो ।
यसै गरी, ज्वरो र श्वासप्रश्वासकै समस्या भएर साउन १५ गते राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका राज गढ गाउँपालिकाका ७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनीहरूको गए राती मृत्यु भएको जनाइएको छ ।
तीन जनाको स्वाब सङ्कलन गरिसकेपछि मात्रै अन्तिम संस्कारको अनुमति दिइने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्