तपाईँ सुन्दै हुनुहुन्छः

सडक बिस्तार रोकिने गरी बनाइएका घरहरू हटाइए

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा लामो समयदेखि सडक बिस्तार रोकिनेगरी बनाइएका घरहरु हटाइएको छ ।

सडकको क्षेत्राधिकार ओगटेर बनेका घरहरु हटाउन पटकपटक घरधनीलाई आग्रह गरिए पनि अटेर गरेपछि वडा नं ९ र ११ मा पर्ने कालिकापथमा रहेका घरहरु हटाइएको कार्यबाहक नगर प्रमुख गोमादेवी आचार्यले बताउनुभयो ।

उपमहानगरपालिकाले ती घरहरुका कारण बाटो बिस्तार रोकिएको भन्दै यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो । उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाइएको आचार्यले बताउनुभयो ।

विसं २०५४ मै यो सडकलाई ८२ फुट (२५ मिटर) कायम गरी विस्तारको योजना बनाइएको थियो । सो क्षेत्रमा बाटो बिस्तार गरी ८२ फुटको बनाउने क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर डोजर लगाएर भत्काइएको हो । सडक क्षेत्रका अधिकांश घर हटाए पनि केही घरधनीले अटेरी गरेकाले डोजर चलाउनु परेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उपमहानगरपालिकाले प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाएको हो ।

बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रुपमा विस्तार गर्ने योजना बनाएर बाटो बिस्तार गर्न लागेको जनाएको छ । आज बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालसहित सात जनाको घर भत्काइएको हो । अधिकांश घरधनीले यसअघि आफै घर भत्काएर नगरपालिकाको विकास अभियानलाई साथ दिएपनि केही व्यक्तिले अटेर गरेकाले बल प्रयोग गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

करिब एक अर्बको खर्च अनुमान गरिएको यो सडक बिस्तारका लागि प्रदेश नं ५ सरकारले बजेट व्यवस्था गर्ने यो सडकलाई नमूना बनाउने उपमहानगरको योजना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button