तपाईँ सुन्दै हुनुहुन्छः

छाडा पशुचौपायाहरुलाई व्यवस्थापन गर्न नगर प्रमुख र वडाध्यक्ष बीच लिखित सम्झौता

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका छाडा पशुचौपायाहरुलाई व्यवस्थापन गर्न नगर प्रमुख दिल बहादुर ऐर र वडा नम्बर ९ का वडाध्यक्ष रमेश ऐर बीच लिखित सम्झौता भएको छ ।

शुक्लाफाँटा नगर कार्यपालिकाको कार्यालय पहिलो पक्ष र शुक्लाफाँटा नगरपालिका ९ नम्बर वडा समिति दोस्रो पक्षबीच आइतबार लिखित सम्झौता भएपछि स्थायी रुपमा छाडा पशुचौपाया व्यवस्थापनको बाटो खुलेको हो । सम्झौता पत्रमा सामुदायिक छाडा पशुचौपाया व्यवस्थापन कार्य गर्नका लागि वडा नम्बर ९ स्थित सम्पूर्ण सरोकारवालाहरुको प्रतिनिधित्व हुने गरी सामुदायिक छाडा पशुचौपाया व्यवस्थापन समिति गठन गर्ने, गौशाला लगायतका अन्य पूर्वाधार निर्माण गर्ने र हाल नगर क्षेत्र भित्र रहेका सबै छाडा पशुचौपायाहरुको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । त्यसका लागि आवश्यक जनशक्ति छनौट तथा परिचालन सामुदायिक छाडा पशुचौपाया व्यवस्थापन समितिले नियमानुसार गर्ने उल्लेख छ । त्यस्तै, गौशालामा राखिने सामुदायिक छाडा पशुचौपायाहरुको बिमा गर्ने जनाइएको छ ।

गौशाला तथा व्यवस्थापन स्थल नजिकको बन, पर्यावरण तथा जैविक विविधतामा प्रतिकुल असर हुन नदिने तथा नजिकको सामुदायिक वनमा गेविन जाली, काडेतार र वृक्षारोपण गर्ने, खानेपानीको व्यवस्थापन गर्ने, आवश्यक घाँस, पराल, दाना चारो, नुन आदिको व्यवस्थापन गर्ने, प्रांगारिक मलको उद्योग र बायोप्लान्ट सञ्चालन गर्ने जस्ता आवश्यक व्यवस्थापनको जिम्मेवारी दोस्रो पक्षको रहने सम्झौता पत्रमा उल्लेख गरिएको छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन, अनुगमन, दीर्घकालीन रणनीति र छाडा पशुचौपाया हेरालाहरूको बिमाका लागि आवश्यक कार्य पहिलो पक्ष अर्थात शुक्लाफाँटा नगर कार्यपालिकाले गर्ने सम्झौता भएको नगर प्रमुख दिल बहादुर ऐरले जानकारी दिनुभएको छ ।

अब शुक्लाफाँटा नगरपालिकामा रहेका छाडा पशुचौपायाहरुलाई वृन्द्रावन सामुदायिक वनमा व्यवस्थापन गरिने भएको छ । केही दिनयता कृष्ण माध्यमिक विद्यालयको प्रांगणमा रहेका पशुचौपायालाई वृन्द्रावन सामुदायिक वनको चरन क्षेत्रमा सार्ने कार्य शुरु गरिएको छ । पशुचौपाया व्यवस्थापनको लागि आवश्यक संरचना निर्माण भएपछि स्थायी रुपमै व्यवस्थापन गर्न सकिने शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रमेश ऐरले जानकारी दिनुभएको छ ।

यसअघि शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महराको सकृयतामा नगरपालिकाले करीब दुई वर्ष देखि छाडा पशु चौपायाहरुलाई बैजनाथ सामुदायिक वनमा व्यवस्थापन गर्दै आएको थियो । तर गतसाताको आइतबार अराजक व्यक्तिहरूको समूहले शुक्लाफाँटा नगरपालिकाको ८ नम्बर वडा कार्यालयमा तोडफोड र वडाध्यक्ष बहादुर सिंह महरा माथि कार्यकक्षमै कुटपिट गरेपछि छाडा पशुचौपाया हेरालाहरुले असुरक्षाको कारण देखाउँदै व्यवस्थापन केन्द्रमा व्यवस्थित पशुचौपाया गतसाताको सोमबार नगरपालिका कार्यालय परिसरमा हुलेका थिए । त्यसयता छाडा पशुचौपायाहरुको व्यवस्थापनको कार्य नगरपालिकाका लागि निक्कै पेचिलो बनेको थियो । त्यसबीचमा खुला आकाश मुनी भोक, प्यास र निरन्तरको झरीका कारण ती पशुचौपाया मर्न थालेपछि झलारीका केही व्यक्तिहरुले आवश्यक घाँसपातको व्यवस्था समेत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button