तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको झलारी बजारमा छ तोला सुन र एक किलो ३० ग्राम चाँदी चोरी

कञ्चनपुर  । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० स्थित झलारी बजारमा रहेको आर एन ज्वैलर्सबाट अज्ञात समूहले गए राति लाखौँ मूल्य बराबरका गरगहनाहरू चोरी गरेर लगेको छ ।

पसलमा रहेको छ तोला सुन र एक किलो ३० ग्राम चाँदी चोरी भएको पसलका सञ्चालक लक्ष्मण सोबले बताउनुभयो । उहाँका अनुसार, पसलको छतको ढोका फुटाएर चोरहरूले गरगहना चोरी गरेको रहेछ ।

चोरी भएको गरगहना मध्ये बनाउन राखिएको ग्राहकको सुन समेत रहेको सञ्चालक सोबको भनाइ छ । गहना राखिएको डेस्कको ताला फुटाएर सुनचाँदी चोरी भएको बताइएको छ ।

सिसा भित्र राखिएको चाँदीका गहना समेत गरी करिब सात लाख मूल्य बराबरको सुनचाँदी चोरी भएको सञ्चालकको दाबी छ । चोरीको गहना पत्ता लगाइदिन र चोरहरूमाथि कारबाही गर्न इलाका प्रहरी कार्यालय झलारीमा सञ्चालक सोबले निवेदन दिएको प्रहरीले जनाएको छ ।

यसअघि झलारी बजारमै रहेको जयकिशन चौधरीको पसल फुटाएर चार लाख रुपैयाँ नगद रकम चोरी भएको थियो ।

शुक्लाफाँटा नगरपालिकाको मुख्य बजार क्षेत्र मै अधिकतम चोरीका घटनाहरू बढ्दै गएका छन् । रातिको समयमा झलारीको मुख्य बजारमा प्रहरीको उपस्थिति रहे पनि झलारी बजारमै चोरीका घटना झन् बढ्दै गएपछि स्थानीय व्यापारीहरू चिन्तित र त्रसित बन्दै गएका छन्‌ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button