इलाममा मालपोत र शिक्षा कार्यालयको बाहिरी सेवा अनिश्चित समय बन्द रहने
इलाम । पछिल्लो समय इलाममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि इलाममा सतर्कता अपनाउन थालिएको छ ।
कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिँदै आएको सेवा केही दिनलाई बन्द गर्ने निर्णय गरेको हो ।
आज (सोमबार)देखि मालपोत कार्यालय इलामबाट प्रवाह हुँदै आएको बाहिरी सेवा बन्द गरेको छ । मानिसको भिडभाड बढी हुने मालपोत कार्यालय बाट सेवा समेत अनिश्चित समयको लागि रोकिएको छ । यसै गरी शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय पनि बन्द गरिने केन्द्रले निर्णय गरेको छ ।
सार्वजनिक सेवा सञ्चालन गर्दा सङ्क्रमणको जोखिम हुने भएकोले सेवा बन्द गरिएको जनाइएको छ । सशस्त्र प्रहरी बल हेड क्वार्टर एक नम्बर गणमा कोरोनाको सङ्क्रमण फैलिएपछि गणको आसपासमा रहेको मालपोत कार्यालय बन्द हुने भएको हो ।
मालपोत र शिक्षा विकास तथा समन्वय इकाईले आन्तरिक काम गरे पनि सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरीको गणमा कोरोनाका सङ्क्रमण फैलिएपछि त्यसलाई सिल गरिएको छ ।
इलाममा अहिलेसम्म ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने सशस्त्र प्रहरीको गणका २७ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्