तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय टोली वीरगञ्जमा

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमण समुदायमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय टोली वीरगञ्ज आई पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली वीरगञ्ज आईपुगेको हो । टोलीले आज वीरगञ्जमा सुरक्षा निकायका प्रमुखहरु, स्थानिय प्रशासन, स्वास्थ्यकर्मीहरुसँग आवश्यक परामर्श गरेको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले बताउनुभयो ।

टोलीले वीरगञ्जमा कोरोना संक्रमण फैलिनुको कारण र रोकथामका लागि अवलम्वन गर्नु पर्ने उपायका बारेमा छलफल गरेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो । पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक रुपमा वृद्धि भएको छ ।

साउन महिनामा मात्र वीरगञ्जमा ११ जना भन्दा बढी संक्रमितको मृत्यु भएको र झण्डै ४ सय भन्दा बढी संक्रमित भएपछि उच्च स्तरीय टोली कोरोना नियन्त्रणका लागि अवाश्यक पर्ने रणनीति अपनाउन वीरगञ्ज आईपुगेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो ।

विगत केही दिन यता वीरगञ्जमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि स्वाब संकलनलाई तिव्रता दिईएको छ ।

वीरगञ्ज महानगरपालिकाले एक घर एक परीक्षण अभियान सञ्चालन गरेको छ भने स्थानीय प्रशासनले समेत छुट्टै टोली खटाएर टोल टोलमा परिक्षणलाई तीव्रता दिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो ।

संक्रमितको संख्या बढदै गएपछि अस्पतालमा राख्ने ठाउँको अभावमा संक्रमितहरुलाई होम आईसोलेशनमा राखिएको छ । शनिवारबाट लक्षण सहित संक्रमित भएकाहरुलाई अस्थायी कोभिड वीरगञ्ज हेल्थ केयर अस्पतालको आईसोलेशनमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button