वराह क्षेत्रमा ढुङ्गा पन्छाउने क्रममा एक युवाको मृत्यु
सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिका–१ चतरा घाटमा ढुङ्गा पन्छाउने क्रममा एक जना युवाको ज्यान गएको छ ।
शनिवार बिहान जेसिबीले सडकमा खसेको ढुङ्गा पन्छाउने क्रममा ढुङ्गा खस्दा भोजपुर आम चोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।
शनिवार भएको घटनामा अर्का उनीसँगै रहेका दाजु ३० वर्षीय शङ्कर राई र १० वर्षीय अजय राई गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिनुभयो ।
स्वामी नारायण एन्ड आशीर्वाद कम्पनीले सामान ल्याउने क्रममा बाटोमा गएको पहिरो पन्छाउँदा ढुङ्गा खसेको कम्पनीको १ क १७६० नम्बर जेसिभीले अवरोध पुर्याएका सडकको पहिरोलाई पन्छाउने क्रममा ढुङ्गा खसेर राईलाई लागेको र उनको घटनास्थलमै मृत्यु भएको हो ।
सात जनाको समूहमा भोजपुरको आम चोक जाँदै गरेका उनीहरू मध्ये थप चार जना ३० वर्षीय महेन्द्र राई, ९ वर्षीया समीक्षा राई, २४ वर्षीय विशाल राई, ६२ वर्षीया बुद्धिमाया राई भने सकुशल रहेको इन्स्पेक्टर राजवंशीले जानकारी दिनुभयो ।
मृतक राजकुमारको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।
जेसिबी चालक झापा गौरीगञ्जका ३६ वर्षीय कमलबहादुर खत्रीलाई नियन्त्रणमा लिएको इन्स्पेक्टर राजवंशीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्