एक सातादेखि कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली-अविरल वर्षाका कारण एक सातादेखिको कर्णाली राजमार्ग अवरुद्ध रहेको छ । राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौँ स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध छ ।
बाढीपहिरोले सडक बन्द भएपछि पाँच दिन लगाएर पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले बोलाएको समीक्षामा सहभागी हुन नसकिएको जिल्ला कृषि विकास तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुखद्वय बालकराम देवकोटा र गोविन्द महतले जानकारी दिनुभयो ।
भेटेरेनरी तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले समीक्षा सहभागी हुनेभन्दा जीवन जोगाएर बल्लतल्ल घर फर्कन सफल भएको सुनाउनुभयो । जिल्ला वन कार्यालय मुगु तथा जुम्लाका जिल्ला वन अधिकृतद्वय भरत बुढ्थापा र दिनेश खत्रीले जीवनमा पहिलोपटक चार दिन लगाएर कष्टकर यात्रा गर्नुपरेको दुखेसो गर्नुभयो ।
राजमार्गको स्तरवृद्धि नगरे एवं पुल निर्माणमा तदरुकता नदिएसम्म यहाँका नागरिकले वर्षेनी यही समस्या भोग्नुपर्ने उहाँहरुको भनाइ थियो । खाँडाचक्र नगरपालिका–६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारले सडक स्तरनोतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटक–पटक दुःख भोग्नुपरेको गुनासो गर्नुभयो ।
चार दिनसम्म सडक अवरुद्धमा पर्दा रु ७० हजारको तरकारी कुहिएर गएको उहाँको भनाइ थियो । गाडी व्यवसायी भानु देवकोटाले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने दिनबाट मुक्त गर्न कर्णालीवासी कहिले हुने हो ? भन्ने प्रश्न गर्नुभयो । मुलुक सङ्घीयतामा गइसकेपछि पनि कर्णालीका नागरिकको दुःख टर्न नसकेको व्यवसायी उहाँले गुनासो पोख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्