मास्क नलगाई हिँड्ने ४५ जना कारबाहीमा
सिन्धुपाल्चोक । इलाका प्रहरी कार्यालय मेलम्चीले मास्क नलगाई हिँड्नेलाई कारबाही गरेको छ । सङ्क्रमण रोग ऐन–२०२० अन्तर्गत प्रहरीले मास्क नलगाई हिँड्ने व्यक्ति तथा सवारी साधनहरूमाथि धमाधम कारबाही थालेको हो ।
मास्क लगाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गर्दा समेत जनस्तरबाट अवज्ञा गर्ने क्रम बढेपछि प्रहरीले सडकमा मास्क नलगाई हिडनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने काम अगाडि बढाएको हो ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले पूर्व जानकारी दिँदा समेत अटेर गरेपछि बाध्य भएर सडकमै उत्रिएर कारबाही गर्न परेको बताउनुभयो । मास्क नलगाई हिड्नेहरुलाइ १०० रुपियाँ जरिवाना लिने र मास्क लगाउन आग्रह गर्ने गरेको तामाङले जानकारी दिनुभयो ।
सरकारले अनिवार्य रूपमा मास्कको प्रयोग नगर्नेमाथि कारबाही गर्न यस अघि नै निर्देशन दिएको थियो ।
यस्तै जिल्लामा अहिलेसम्म मास्क नलगाई हिँड्ने ४५ जना कारबाहीमा परेका छन् भने ३०० भन्दा बढिलाई सम्झाइ बुझाइ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ५०० थान मास्क समेत वितरण गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्