रेल विभागद्वारा झापामा प्रभावित क्षेत्रका वासिन्दासँग छलफल

भद्रपुर, झापा । पूर्व पश्चिम विद्युतीय रेलमार्गको निर्माण अगाडि बढाउने विषयमा रेल विभागले शुक्रबार झापाको बिर्तामोडमा सरोकारवालासँग छलफल गरेको छ । विभागको प्राविधिक टोलीले प्रभावित क्षेत्रका स्थानीयसँग छलफल गरेको हो ।
प्रभावित क्षेत्रका स्थानीयसँग छलफल नगरी विभागले एकैचोटि लकडाउनका बेला मुआब्जाका लागि सूचना जारी गरेपछि प्रभावित क्षेत्रका बासिन्दा आक्रोशित भएका थिए । त्यसलाई सम्बोधन गर्न विभागीय टोली केही दिनदेखि पूर्वमा छ ।
टोलीले झापा, मोरङ र सुनसरीका प्रभावितसँग छलफल गरी कतिपय अन्योल टुङ्ग्याउन खोजिएको विभागका सिनियर डिभिजनल इञ्जिनियर देवेन्द्रकुमार सिंहले बताउनु भएको छ । स्थानीयले मुवाब्जा र कतिपय कित्ता फरक परेको विषयमा कुरा राखेको भन्दै उहाँले त्यसलाई विभागले सच्चाएर अर्काे सूचना जारी गर्ने बताउनु भयो ।
झापामा गठित रेलवे प्रभावित मूल समन्वय समितिका संयोजक डाक्टर लक्ष्मीप्रसाद मैनालीले उचित मुआब्जा पाउनुपर्ने बताउँदै रेलवेले ओगट्ने क्षेत्रका विषयमा विभागले प्रष्ट्याउनु पर्नेमा जोड दिनुभएको छ ।
विभागले पहिलो चरणमा झापाको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्म १०६ किलोमिटर विद्युतीय रेल मार्ग बनाउने योजना अघि सार्दै ठेक्का प्रक्रिया पनि सुरु गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्